मुख्य सामग्रीमा जानुहोस्

करिब दुई वर्षपछि घर फर्किइन् बन्दना, अस्पतालले ३१ लाख ५७ हजार रुपैयाँ मिनाहा गर्‍यो

डडेल्धुरा जिल्लाकी बन्दना लिम्बु करिब दुई वर्ष लामो उपचारपछि बिहीबार घर फर्किएकी छन्। धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले उनको उपचारपछि बाँकी रहेको ३१ लाख ५७ हजार रुपैयाँ पूर्ण रूपमा मिनाहा गरेको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
करिब दुई वर्षपछि घर फर्किइन् बन्दना, अस्पतालले ३१ लाख ५७ हजार रुपैयाँ मिनाहा गर्‍यो

डडेल्धुरा जिल्लाकी बन्दना लिम्बु करिब दुई वर्ष लामो उपचारपछि बिहीबार घर फर्किएकी छन्। धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचाररत उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

बन्दना २०८१ साल साउन ३१ गते घर नजिकै साइकल सिक्ने क्रममा लडेर गम्भीर घाइते भएकी थिइन्। दुर्घटनापछि बेहोस अवस्थामा उनलाई प्रारम्भिक उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो। थप विशेषज्ञ उपचार आवश्यक देखिएपछि सोही दिन एम्बुलेन्समार्फत धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा रिफर गरी भर्ना गरिएको थियो। अस्पतालमा भर्ना भएको भोलिपल्ट उनको पहिलो शल्यक्रिया गरिएको थियो। उपचारका क्रममा दुई वटा मेजर शल्यक्रियासहित आवश्यक माइनर शल्यक्रिया सम्पन्न गरिएको अस्पतालले जनाएको छ।

विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा निरन्तर उपचार, सघन नर्सिङ सेवा, फिजियोथेरापी तथा पुनःस्थापना सेवामार्फत उनको उपचारलाई निरन्तरता दिइएको थियो। अस्पतालका अनुसार बन्दनाले १ वर्ष ११ महिना १ दिन अस्पतालमै बसेर उपचार गराएकी हुन्। लामो उपचार र पुनःस्थापनापछि स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार आएपछि बिहीबार उनलाई डिस्चार्ज गरिएको हो।

उपचारका क्रममा ठूलो आर्थिक भार सिर्जना भए पनि बिरामीको पारिवारिक तथा आर्थिक अवस्थालाई ध्यानमा राख्दै अस्पतालले उपचारपश्चात बाँकी रहेको ३१ लाख ५७ हजार रुपैयाँ बराबरको उपचार खर्च पूर्ण रूपमा मिनाहा गरेको जनाएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष तिर्थराज पन्तले एउटा बिरामीको ज्यान जोगाउन सफल भएकोमा खुसी व्यक्त गर्दै स्वास्थ्य सेवा केवल व्यवसाय नभई मानवीय दायित्व र सामाजिक उत्तरदायित्व पनि भएको बताए। अस्पतालबाट घर फर्किएपछि बन्दनाको दैनिक जीवनयापन र आवतजावत सहज बनाउन अस्पतालले एक थान आरामदायी ह्विलचेयर पनि सहयोगस्वरूप प्रदान गरेको छ।

बन्दनाको उपचारमा सामाजिक सहयोग पनि उल्लेखनीय रह्यो। ‘फारवेस्टर्न राइडर’का नामले परिचित भरतविक्रम शाहको पहलमा करिब ६ लाख रुपैयाँ सहयोग संकलन गरिएको थियो, जसले उपचार प्रक्रियामा महत्वपूर्ण सहयोग पुगेको बताइएको छ।