मुख्य सामग्रीमा जानुहोस्

बोटे समुदायको नयाँ वर्षः राप्ती किनारमा पूजा र शुभकामना

चितवनका बोटे समुदायले साउन १ को अवसरमा राप्ती नदी किनारमा भेला भएर जल, जमिन र जङ्गलको पूजा गरे। उनीहरूले नयाँ वर्षको शुभकामना ‘लेलाहार देलाहार’ कार्यक्रमसमेत आयोजना गरे।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
बोटे समुदायको नयाँ वर्षः राप्ती किनारमा पूजा र शुभकामना

चितवनका बोटे समुदायले साउन १ लाई आफ्नो नयाँ वर्ष र मुख्य पर्वका रूपमा मनाएका छन्। शुक्रबार पटिहानी छितामाई राप्ती नदी किनारमा भेला भएर उनीहरूले सामूहिक पूजा गरे। पूजापछि बोटे भाषामा ‘लेलाहार देलाहार’ अर्थात् लिनेदिने कार्यक्रम गर्दै शुभकामना आदानप्रदान गरियो।

पूजाका गुरुवा अर्थात् मूल कर्ता रामराज बोटेले बिहानै राप्ती किनारमा पुगेर जल, जमिन र जङ्गलको विधिपूर्वक पूजा गरे। पूजा स्थलमा बोटे समुदायका महिला, पुरुष र बालबालिका चितवन र तनहुँ देवघाटबाट उपस्थित थिए। जङ्गलको कुरिलो, भोर्लाको पात, थाकललगायत सामग्री पूजाका लागि ल्याइएको थियो।

सामूहिक पूजामा बोटे समुदायको परम्परागत पेशासँग सम्बन्धित सामग्री पनि राखिएको थियो। डुङ्गाको सानो नमुना, माछा राख्ने ढडिया, माछा मार्ने जाल, बालुवा चालेर सुन निकाल्दा प्रयोग हुने डुँड, सोहर्ना र चिनौटाजस्ता सामग्रीको पूजा गरियो। राप्तीमा तैरिरहेका डुङ्गाको पनि पूजा गरिएको थियो।

पटिहानीकी बिना बोटेले साथीहरूसँग मिलेर पूजा सामग्री जुटाएकी थिइन्। उनले भनिन्, ‘बोटेहरू कि खोलामा कि जङ्गलमा आश्रित छन्। साउनको भेलमा जलको पूजा गरे आपत पर्दैन। हरियाली बढेका बेलामा जङ्गलको पूजा गरे प्रकृतिले हामीलाई रक्षा गर्छ भन्ने विश्वास हो।’

नेपाल बोटे समाज जिल्ला कार्यसमिति चितवनले कार्यक्रम आयोजना गरेको थियो। समाजका कार्यवाहक अध्यक्ष विश्व बोटेले भने, ‘हाम्रो आफ्नै चाडपर्वमा साउने संक्रान्ति मुख्य पर्व हो। प्रकृतिको पूजा गर्दै मिठो पकाएर खाने दिन हो। यसलाई नयाँ पुस्ताले पनि निरन्तरता दिन आवश्यक छ भनेर सामूहिक रूपमा पूजा गर्ने र शुभकामना आदानप्रदान गर्न सुरु गरेका छौँ।’

चितवनमा बोटे समुदाय राप्ती, रिउ र नारायणी नदी किनार क्षेत्रमा बसोबास गर्छन्। २०७८ को जनगणना अनुसार जिल्लाको कुल जनसंख्या ७ लाख १९ हजार ८५१ मध्ये बोटे समुदायको जनसंख्या ३ हजार १४४ रहेको समाजका अध्यक्ष सन्तोष बोटेले बताए।