मुख्य सामग्रीमा जानुहोस्

बागमती गाउँपालिकामा १५ शय्याको सहिद स्मृति अस्पताल सञ्चालनमा

बागमती गाउँपालिकामा १५ शय्याको सहिद स्मृति आधारभूत अस्पताल सञ्चालनमा आएको छ। तीन वर्षअघि निर्माण सुरु भएको अस्पतालमा सुत्केरी, आँखा, दन्त, प्रयोगशालालगायत सेवा उपलब्ध हुनेछ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur

मकवानपुरको बागमती गाउँपालिकामा १५ शय्याको सहिद स्मृति आधारभूत अस्पतालले आज शुक्रबारदेखि बिरामीको स्वास्थ्य परीक्षण सुरु गरेको छ। गाउँपालिका–५ मा करिब १८ करोड रुपैयाँको लागतमा निर्माण गरिएको यो अस्पताल तीन वर्षअघि निर्माण सुरु भएको भवनमा सञ्चालनमा ल्याइएको हो।

गाउँपालिका अध्यक्ष सर्केश घलानका अनुसार भवन निर्माण सम्पन्न भएसँगै अस्पताललाई सेवामा ल्याइएको हो। अस्पतालमा सुत्केरी सेवा, आँखा परीक्षण, दन्त सेवा, बहिरङ्ग सेवा, खोप सेवा, भिडियो एक्सरे र प्रयोगशाला सुविधा रहेको स्वास्थ्य शाखा प्रमुख दिनेश गुप्ताले जानकारी दिए।

हेटौंडाबाट करिब ६० किलोमिटर दूरीमा रहेको अस्पतालमा चिकित्सकसहित १५ जना स्वास्थ्यकर्मी कार्यरत छन्। यसले बागमती गाउँपालिकाका साथै छिमेकी जिल्ला सिन्धुलीको हरिहरपुरगढी र काभ्रेको महाभारत गाउँपालिकाका बासिन्दालाई समेत सेवा पुर्याउने गुप्ताले बताए।

सङ्घीय सरकारको लगानीमा डेढ विघा जमिनमा निर्माण गरिएको अस्पताल भवनको काम तीन वर्षअघि सुरु भएको थियो। बागमती गाउँपालिकाका नौ वटा वडामा स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र रहेका छन्।