मुख्य सामग्रीमा जानुहोस्

बर्दियाको भूमि प्रशासन कार्यालयमा मादक पदार्थ सेवन गरेको आरोपमा पाँच जना पक्राउ

बर्दियाको भूमि प्रशासन कार्यालयमा दिउँसै मादक पदार्थ सेवन गरिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कार्यालयका कर्मचारी र सेवाग्राही रहेको बताइएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखी…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur

बर्दियाको भूमि प्रशासन कार्यालयमा शुक्रबार दिउँसो मादक पदार्थ सेवन गरिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। कार्यालय समयमै उनीहरूले मादक पदार्थ सेवन गरिरहेको देखेपछि सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयमा सूचना दिएका थिए।

सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लोकप्रसाद ढकाल र प्रहरी निरीक्षकसहितको टोली भूमि प्रशासन कार्यालय पुग्दा उनीहरूलाई मादक पदार्थ सेवन गरिरहेको अवस्थामा फेला पारेको थियो। टोलीले उनीहरूलाई त्यहीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहराले बताए।

पक्राउ पर्ने व्यक्तिहरू

पक्राउ पर्नेहरूमा भूमि प्रशासन कार्यालयका खरिदार सुर्खेत विरेन्द्रनगर नगरपालिका–११ का युवराज आचार्य, सवारी चालक बारबर्दिया नगरपालिका–७ बस्ने गुलबहादुर चौधरी, गुलरिया नगरपालिका भू–सेवा कार्यालयमा कार्यरत गुलरिया नगरपालिका–६ का सन्तोष राना, लेखनदास गुलरिया नगरपालिका–४ की दिलमाया डाँगी र सुभा थारू रहेका छन्।

अनुसन्धान जारी

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको र अनुसन्धान भइरहेको जानकारी दिए। यस विषयमा भूमि प्रशासन कार्यालयका प्रमुख शेरबहादुर थापा र सूचना अधिकारी दिपेन्द्रकुमार बिसीलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन।