मुख्य सामग्रीमा जानुहोस्

गृहजिल्ला गोरखामा गृहमन्त्री गुरुङद्वारा एकद्धार प्रणाली सुदृढ गर्न निर्देशन

गृहमन्त्री सुधन गुरुङले गोरखामा नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्रलगायतका सेवा एकद्धार प्रणालीबाट दिन निर्देशन दिएका छन्। कर्मचारीले सेवाग्राहीसँग अनुचित शुल्क लिएमा आफैं एक्सनमा उत्रने उनले बताए।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
गृहजिल्ला गोरखामा गृहमन्त्री गुरुङद्वारा एकद्धार प्रणाली सुदृढ गर्न निर्देशन

गृहमन्त्री सुधन गुरुङले गृहजिल्ला गोरखामा नागरिकलाई एकद्धार प्रणाली (वानडोर सिस्टम) मार्फत छिटो र छरितो सेवा प्रदान गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

शुक्रबार साँझ गोरखा आइपुगेका गुरुङले जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूलाई सम्बोधन गर्दै नागरिकता, पासपोर्ट तथा राष्ट्रिय परिचयपत्रजस्ता सेवाहरू एकद्धार प्रणालीअन्तर्गत प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिए। उनले भने, '१५ मिनेटको ठाउँमा १६ मिनेट भए पनि कम्प्रोमाइज गर्दिनँ।'

गृहमन्त्रीले आफ्नै गृहजिल्लामा वानडोर सिस्टम सहज नभए अन्य जिल्लाको अवस्था के होला भन्दै सेवा प्रवाहमा ढिलाइ नगर्न आग्रह गरे। उनले सेवाग्राहीसँग एक रुपैयाँ मात्र अनुचित शुल्क लिएको पाए आफैं कारबाहीमा उत्रने चेतावनी दिए। 'विचौलिया आएर मिलाएको थाह पाए वा कर्मचारीले एक रुपैयाँ खाएको थाह पाए पर्सनली एक्सनमा उत्रन्छु,' उनले भने।

गृहमन्त्री गुरुङले सबै कर्मचारीको कोठामा भ्वाइससहितको सीसी क्यामेरा राख्न निर्देशन दिए। 'सिस्टम चलेको छ वा छैन, जनताले सुविधा पाएको छ वा छैन, काठमाडौंबाट पनि सीसी क्यामेरामार्फत हेर्न सकियोस्,' उनले भने।

यस्तै, गुरुङले वन क्षेत्र अतिक्रमण गरी बनाइएको बाह्रकिलोको टहरा हटाइसकेपछि अब एकतर्फी रूपमा सवारी सञ्चालनको व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलाई निर्देशन दिए। 'एक ठाउँमा जाँदा तेह्रकिलोबाट जाने, आउँदा बाह्रकिलोबाट फर्कने भयो भने दुवै बस्तीलाई समस्या पर्दैन,' उनले भने। यो काम ७ दिनभित्र गरिसक्न उनले निर्देशन दिए।