मुख्य सामग्रीमा जानुहोस्

भेनेजुएलाको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, आइएमएफले सहयोग रकम जारी गरेको छ

भेनेजुएलामा गत महिना गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघेको छ। घाइते हुनेको सङ्ख्या १६ हजार ७४० पुगेको छ। पुनर्निर्माणका लागि अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले ३४ करोड ६० लाख अमेरिकी डलर…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur

गत जुन २४ मा भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघेको छ। नेसनल एसेम्बलीका प्रमुख जर्ज रोड्रिगेजका अनुसार हालसम्म पाँच हजार ६९ जनाको मृत्यु भएको छ। अधिकांश मृतक तटीय क्षेत्रका बासिन्दा रहेका छन्।

यी भूकम्प सात दशमलव दुई र सात दशमलव पाँच म्याग्निच्युडका थिए। एक मिनेटको अन्तरालमा गएको यी भूकम्पले राजधानी काराकासको उत्तरमा रहेको तटीय राज्य ला गुआइरालाई सबैभन्दा बढी प्रभावित पारेको थियो।

भूकम्पमा घाइते हुनेको सङ्ख्या १६ हजार ७४० पुगेको छ। यद्यपि अधिकांश घाइते उपचारपछि अस्पतालबाट घर फर्किसकेको अधिकारीहरूले जनाएका छन्। करिब २० हजार मानिस घरबारविहीन भएका छन् र उनीहरू अस्थायी शिविरमा बस्दै आएका छन्, जहाँ खानेपानी र सरसफाइको पर्याप्त व्यवस्था नभएको जनाइएको छ।

अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पपछिको पुनर्निर्माणका लागि आइएमएफबाट ३४ करोड ६० लाख अमेरिकी डलर प्राप्त भएको जानकारी दिए। आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले उक्त रकम उपलब्ध गराइएको पुष्टि गर्दै तत्काल मानवीय आवश्यकताको सम्बोधनका लागि भेनेजुएलाको आफ्नै सञ्चित स्रोत (रिजर्भ ट्राञ्च) प्रयोग गर्न सहयोग गरिएको बताइन्।

भेनेजुएलासँग आइएमएफमा करिब पाँच अर्ब १० करोड अमेरिकी डलर बराबरको विशेष आहरण अधिकार (एसडीआर) मौज्दात रहेको छ। निकोलस मादुरोलाई राष्ट्रपति नमानिएका कारण यसअघि उक्त स्रोतको उपयोग रोकिएको थियो। यस वर्ष जनवरीमा निकोलस मादुरो सत्ताच्युत भएपछि आइएमएफ र विश्व बैंकले अप्रिलमा भेनेजुएलासँगको सहकार्य पुनःसुरु गरेका थिए। सन् २०१९ देखि यी संस्थासँगको सम्बन्ध स्थगित रहेको थियो।