काठमाडौँ — आफ्ना दुई छोरीहरूले बाबुलाई हरेक बिहान अफिस जाँदा र आमालाई सधैं घरमै देख्दा साइनी खेतानको मनमा एउटा गहिरो प्रश्न उब्जियो: के म यसरी घरमै सीमित रहें भने मेरा छोरीहरूले मबाट के सिक्लान्? उनीहरूले महिलाको दुनियाँ घरको चौघेराभन्दा बाहिर छैन भन्ने सन्देश लिनेछन् कि?
यही प्रश्नले साइनीलाई बेचैन बनायो। उनी व्यावसायिक घरानाकी छोरी हुन्। बुबाको पुस्तैनी व्यापार चलिरहेकै थियो, श्रीमान् अभिनव चुरीवालले मंगलम पाइप्स, हाई ग्राउन्ड एडभेन्चर्सलगायतका व्यवसाय सफलतापूर्वक सञ्चालन गरिरहेका थिए। आर्थिक बाध्यता वा पारिवारिक दबाब नभए पनि साइनीले आफू उद्यममा होमिने निधो गरिन्।
उनको यो कदम आफ्ना छोरीहरूका लागि प्रेरणादायी उदाहरण बन्ने उद्देश्यले प्रेरित थियो। साइनीले महिलाको संसार घरभित्र मात्र सीमित छैन भन्ने सन्देश दिन चाहन्थिन्। उनको यो यात्राले अहिले धेरै महिलालाई उद्यमशीलता तर्फ उत्साहित गरिरहेको छ।

