मुख्य सामग्रीमा जानुहोस्

चितवनमा वन्यजन्तु आक्रमणबाट ज्यान जाने घटना घट्यो, हात्ती र बाघको निगरानी बढाइयो

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ज्यान जाने घटनामा कमी आएको छ। पछिल्लो आर्थिक वर्षमा पाँच जनाको मृत्यु भएको छ, जुन अघिल्लो वर्षको तुलनामा निकै कम हो। निकुञ्जले हात्ती र बाघलाई स्याटलाइट…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
चितवनमा वन्यजन्तु आक्रमणबाट ज्यान जाने घटना घट्यो, हात्ती र बाघको निगरानी बढाइयो

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ज्यान जाने घटना पछिल्ला वर्षहरूमा घटेको छ। निकुञ्जका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा यस्ता घटनामा पाँच जनाको ज्यान गएको छ। अघिल्लो आव २०८१/८२ मा १३ जना र २०८०/८१ मा ११ जनाको ज्यान गएको थियो। यो तथ्याङ्कले वन्यजन्तु आक्रमणबाट हुने मानवीय क्षतिमा कमी आएको देखाउँछ।

निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनास थापा मगरका अनुसार गत आवमा ज्यान गुमाउनेमा जंगली हात्ती र गैंडाबाट दुई–दुई तथा बाघको आक्रमणबाट एक जना थिए। पहिले हात्तीको आक्रमणबाट मृत्यु हुने घटना शून्य थियो तर गत असार २० गते मध्यरातमा ‘धुर्बे’ हात्तीले एउटै परिवारका आमा र छोराको ज्यान लियो। यस घटनापछि निकुञ्जले उक्त हात्तीलाई स्याटलाइट कलर लगाएर निगरानी गर्न थालेको छ।

निगरानी र चुनौती

निकुञ्जको टोलीले बस्तीमा प्रवेश गर्ने बाघ र हात्तीलाई ट्र्याक गर्ने तथा नियन्त्रणमा लिने गरिरहेको छ। तर गैंडाको हकमा यस्तो विशेष व्यवस्था छैन। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष शिवजी गायकले भने, ‘जंगली जनावरबाट हुने मानव मृत्युका घटना शून्यमा पुर्याउने चाहना भए पनि चुनौतीहरू छन्। जनचेतना र पूर्वाधारमा जोड दिनुपर्छ।’

मानिस जंगल जान छाडेका छन् तर जंगली जनावर बाली खान बस्ती पस्न थालेका छन्। निकुञ्ज, मध्यवर्ती समिति र नेपाली सेनाले मेस जाली, तारबार र कंक्रिट पर्खाल जस्ता संरचना बनाएर रोकथामको प्रयास गरिरहेका छन्। तर जनावर आउन भने रोकिएको छैन। अध्यक्ष गायकले पर्याप्त पूर्वाधार तयार भए मात्र द्वन्द्व न्यूनीकरण सम्भव रहेको बताए।