दक्षिण अमेरिकी महादेशमा विश्वकप फाइनलमा आफ्नै क्षेत्रको टोलीलाई समर्थन गर्ने परम्परा यसपटक भने भत्किएको देखिएको छ। अर्जेन्टिना र स्पेनबीचको फाइनलअघि ब्राजिल, मेक्सिको, कोलम्बिया, चिली लगायतका देशका धेरै समर्थक स्पेनको पक्षमा उभिएका छन्। सामाजिक सञ्जालमा भाइरल भएका पोस्ट र आम फुटबलप्रेमीको भावनाले यो प्रवृत्ति स्पष्ट देखिन्छ।
ब्राजिलमा एउटा तस्बिर खुबै भाइरल छ, जसमा स्पेनी खेलाडी लामिन यामलले ब्राजिलको जर्सी लगाएका छन्। तस्बिरमुनि लेखिएको छ, ‘ब्राजिली फुटबलका लागि भरोसा।’ ब्राजिल र अर्जेन्टिनाबीच लामो समयदेखि चर्को फुटबल प्रतिद्वन्द्विता छ, जसलाई पेले र म्याराडोनाबीचको व्यक्तिगत टकरावले अझ धेरै झाँगिएको छ। त्यसैले ब्राजिली समर्थकहरू यसपल्ट अर्जेन्टिनाको विरोधमा स्पेनलाई साथ दिन तयार छन्।
साओ पाउलोका ४२ वर्षीय ब्राजिली प्रशंसक फ्रान्सिस्को सान्तोस भन्छन्, ‘रेफ्रीले सहयोग गरेकै कारण अर्जेन्टिना फाइनल पुगेको हो। यदि ब्राजिल छैटौंपल्ट विश्वकप जित्न सक्दैन भने स्पेन दोस्रोपल्ट विजेता बनोस्। मलाई अर्जेन्टिनाले चौथो पटक विश्वकप जितेको हेर्न इच्छा छैन।’ यस्तै मेक्सिको, कोलम्बिया र अन्य देशका समर्थक पनि अर्जेन्टिनालाई हराएको देख्न चाहन्छन्। कोलम्बियाका सामाजिक अनुसन्धानकर्ता जर्मेन गोमेजका अनुसार दक्षिण अमेरिकी देशबीचको आपसी भातृत्व फुटबलमा आएर टुट्दो रहेछ, र सामाजिक सञ्जालले अर्जेन्टिनाविरुद्धको भावना बढाएको छ।
धेरै समर्थकले अर्जेन्टिनाको फाइनल यात्रामा फिफा र अध्यक्ष जियानी इन्फान्टिनोको भूमिका रहेको आरोप लगाएका छन्। उनीहरूका अनुसार रातो र पहेँलो कार्ड तथा पेनाल्टीको निर्णय अर्जेन्टिनाको पक्षमा भएको छ। बोगाटाका २८ वर्षीय वित्त कर्मचारी जुवान कामिलो भन्छन्, ‘हाम्रो समर्थन स्पेनलाई रहनेछ।’ मेक्सिको सिटीका प्रहरी एन्टोनियो लोपजले मेसीलाई विश्व फुटबलकै लिजेन्ड माने पनि रेफ्रीको सहयोग नभएमा मात्र अर्जेन्टिनाको समर्थन गर्ने बताए।
राजनीतिक प्रभाव पनि यसको एउटा कारण मानिएको छ। मेक्सिकी राष्ट्रपति क्लाउडियो शेनबाउमले फाइनलमा स्पेनलाई समर्थन गर्ने बताएकी छन्। मेक्सिकाका प्रोफेसर जोर्जे नेग्रोले फुटबल राजनीतिसँग मुछिएको र अर्जेन्टिनाप्रति दक्षिण अमेरिकामा बढेको विरोधको प्रमुख कारण राजनीति रहेको बताए। यसबाहेक, केही अर्जेन्टिनी खेलाडी र समर्थकमाथि रंगभेदको गम्भीर आरोप पनि लागेको छ, जसले दक्षिण अमेरिकामा अर्जेन्टिनाको समर्थनलाई कमजोर बनाएको हुन सक्छ।

