मुख्य सामग्रीमा जानुहोस्

वर्षाले सल्यानका दुई दर्जन कच्ची सडक जीर्ण, यात्रु हैरान

वर्षायामले सल्यानका दुई दर्जनभन्दा बढी कच्ची सडक हिलाम्मे बनाएको छ। खाल्डाखुल्डी र सडक जीर्ण हुँदा यात्रु पैदल हिँड्न बाध्य छन्। बिरामी अस्पताल लैजान र कृषि उपज ढुवानीमा समस्या भएको छ।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
वर्षाले सल्यानका दुई दर्जन कच्ची सडक जीर्ण, यात्रु हैरान

सल्यान — वर्षायाम सुरु भएसँगै जिल्लाका दुई दर्जनभन्दा बढी कच्ची ग्रामीण सडक हिलाम्मे र खाल्डाखुल्डी परेपछि यात्रुहरूले ठूलो सास्ती भोग्नुपरेको छ। नाला नबनाइकन निर्माण गरिएका अधिकांश सडकमा वर्षाको भेलले माटो बगाएको छ र सडक जीर्ण बनेको छ।

सडक अवरुद्ध, यात्रु पैदल

सडक मर्मतमा ढिलाइ हुँदा कतिपय ठाउँमा सवारी सञ्चालन ठप्प भएको छ। बालुवा–छरछरे सडकमा पहिरो र कटानका कारण एक सातादेखि सवारी रोकिएको कालिमाटी गाउँपालिका–६ का वडाध्यक्ष टेकराज पुलामीले बताए। उनका अनुसार स्थानीयले सुर्खेतको मेहलकुना हुँदै लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। “ठूलो वर्षा भए दुवै सडक बन्द हुन्छन्, त्यसपछि बिरामी अस्पताल लैजान, कृषि उपज बजार पुर्याउन र सरकारी कामकाजका लागि निकै सास्ती हुन्छ,” उनले भने।

त्यस्तै, छत्रेश्वरी गाउँपालिकाको दमाचौर–झ्याम तथा दहखोला–गुराँसे सडक पनि नाला नहुँदा वर्षाको पानीले सडकमै चिरा पारेको स्थानीय तेजबहादुर योगीले बताए। उनका अनुसार पालिकाले डोजर लगाएर मर्मत गरे पनि निरन्तर वर्षाले फेरि सडक बिग्रिएको छ।

दुर्घटनाको जोखिम बढ्यो

हिलाम्मे सडकका कारण दुर्घटनाको जोखिम पनि बढेको छ। बन्गाड कुपिण्डे नगरपालिका–३ को सल्लीबजार–बामे सडकखण्डको औलबेसी–पाटके क्षेत्रमा हिलोले सवारी फस्ने र चिप्लिने समस्या बढेको वडाध्यक्ष धनबहादुर पुनले बताए। “गाडी फस्दा यात्रुसमेत मिलेर धकेल्नुपर्ने अवस्था छ, हिलोका कारण दुईपांग्रे सवारी दुर्घटनामा पर्ने जोखिम बढेको छ,” उनले भने।

मदन भण्डारी राजमार्गअन्तर्गत बागचौर–पातीहाल्ना सडक निर्माणाधीन रहेकाले वर्षापछिको भेलले सडक चिराचिरा पारेको पातीहाल्नाका बेलाराम गिरीले बताए। पातीहाल्नादेखि बाफुखोला सडक पनि ठाउँ–ठाउँमा बिग्रिएकाले ट्याक्टरबाहेक अन्य सवारी चल्न छाडेको उनले उल्लेख गरे। “खाल्डाखुल्डीले गाडी पल्टिने खतरा छ, गाउँमा बिरामी परे उपचारका लागि बाहिर लैजान पनि धेरै गाह्रो भएको छ,” उनले भने।

स्थानीय तहको प्रयास

कालिमाटी गाउँपालिका–१ का वडाध्यक्ष रविलाल बस्नेतका अनुसार खलंगा–लक्ष्मीपुर–कालिमाटी तथा लुहाम–काभ्रा–कालिमाटी सडकमा क्षति पुगेपछि आइतबारदेखि मर्मत सुरु गरिएको छ। “बजेट अभावका कारण कच्ची सडक स्तरोन्नति गर्न सकिएको छैन, राति बिरामी परे आधा घण्टासम्म स्ट्रेचरमा बोकेर सडकसम्म ल्याउनुपर्ने अवस्था छ,” उनले भने।

कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले वर्षाका कारण ग्रामीण सडकमा क्षति पुगे पनि आवतजावत र कृषि उपज ढुवानी सहज बनाउन तत्काल मर्मत टोली परिचालन गरिएको बताए। उनका अनुसार नियमित वर्षा भइरहे पनि अधिकांश सडकमा सवारी सञ्चालन कायम राख्ने प्रयास भइरहेको छ।