मुख्य सामग्रीमा जानुहोस्

पूर्वाधारमन्त्री लम्सालद्वारा जुम्लामा सडक अनुगमन, गुठिचौर पाटन पुगेर गोठालासँग भेट

पूर्वाधार विकास मन्त्री सुनिल लम्साल जुम्ला आइपुगेर कर्णालीका सडकको अनुगमन गरेका छन्। गुठिचौर पाटनमा गोठालासँग भेट गर्दै उनले पक्की सडक बनाउने आश्वासन दिए। साथै, संघीय खानेपानी कार्यालय पुनर्स्थापित गर्ने प्रतिबद्धता…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
पूर्वाधारमन्त्री लम्सालद्वारा जुम्लामा सडक अनुगमन, गुठिचौर पाटन पुगेर गोठालासँग भेट

पूर्वाधार विकास मन्त्री सुनिल लम्साल कर्णालीका सडकको अनुगमनका लागि जुम्ला पुगेका छन्। आइतबार उनले कर्णाली राजमार्ग, नाग्मगमगडी सडक र डोल्पा जोड्ने सडकको प्रत्यक्ष निरीक्षण गरे।

गुठिचौर पाटन पुगेर मन्त्री लम्सालले त्यहाँका गोठालासँग भेटवार्ता गरे। गोठालाहरूले पक्की सडक निर्माणको माग गर्दा मन्त्रीले ढुक्क रहन आश्वासन दिए। उनले गुठिचौरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके आकर्षणको केन्द्र बन्न सक्ने बताए।

मन्त्री लम्सालले जुम्लामा वर्षौंदेखि अलपत्र अवस्थामा रहेका भौतिक संरचनाहरूको पनि अनुगमन गरे। उनले भने, ‘कर्णालीको सबै जिल्लाका सडकको अनुगमन गर्दैछौं। सबै सडकमा बजेट विनियोजन गरिएको छ, तर बजेट पुगेको छ कि छैन भनेर हेर्न आएका हौं।’ उनले चुनौती पहिचान गरेर आगामी वर्ष थप प्रभावकारी योजना बनाउने बताए।

यसअघि खारेज भइसकेको संघीय खानेपानी कार्यालय पुनः स्थापना गर्ने प्रतिबद्धता पनि मन्त्री लम्सालले जनाए। ‘संघीय खानेपानी कार्यालय आइसकेको छ, केही दिनमै काम सुरु हुन्छ,’ उनले भने।

बर्खामा यात्रा गर्दा कर्णालीको दुःख प्रत्यक्ष अनुभव गर्न पाएको मन्त्रीले बताए। ‘बर्खामै आइयो, एकदम ठिक भयो। सडक हेर्दै कर्णालीको सास्ती भोग्दै पुगियो। अब योजना तर्जुमा गर्न सहज हुनेछ,’ उनले भने।

जुम्लाका स्थानीयले मन्त्री लम्साललाई कर्णाली राजमार्गको स्तरोन्नति गर्न माग गर्दै स्याउको माला लगाइदिए। उनीहरूले बर्खामा पहिरोले सडक अवरुद्ध हुँदा स्याउ निर्यातमा समस्या हुने भन्दै दुई लेनको पक्की सडक बनाउन माग गरे।

मन्त्री लम्सालसँगै सांसद रमेशकुमार सापकोटा र सुशान्त वैदिक पनि सहभागी थिए।