गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ गृह जिल्ला गोरखा आइपुगेका थिए । तीन दिनको भ्रमणमा उनले जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, बजार क्षेत्र, अस्पताललगायत स्थानको निरीक्षण गरे । यो उनको गृहमन्त्री बनेपछि पहिलो गोरखा भ्रमण थियो ।
गोरखा प्रवेश गरेलगत्तै गुरुङ बाह्रकिलो र तेह्रकिलो बजार क्षेत्र पुगे । वन क्षेत्र अतिक्रमण गरेर बनेको बाह्रकिलो बजार हटाइएपछि नयाँ स्थानको व्यवस्थापनबारे स्थानीयसँग छलफल भयो । उनले प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलाई एकतर्फी सवारी सञ्चालनको व्यवस्था ७ दिनभित्र गर्न निर्देशन दिए ।
प्रशासन सुधारका निर्देशन
जिल्ला प्रशासन कार्यालयमा पुगेर गुरुङले सेवा एकद्धार प्रणाली बनाउन र १५ मिनेटभित्र नागरिकता वितरणको काम सक्न निर्देशन दिए । उनले कर्मचारीको कोठामा सीसी क्यामेरा राख्न र काठमाडौंबाट समेत हेर्न सकिने व्यवस्था गर्न भने । सेवाग्राहीसँग १ रुपैयाँ मात्रै असुल गरेको पाइए कडा कारबाही गर्ने चेतावनी दिए ।
शनिबार बिदाको दिन पनि उनी जिल्ला प्रशासन कार्यालय पुगेर सेवा प्रवाहको अनुगमन गरे । नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण फाँटमा आधा घण्टा बिताएर उनले एक दिनअघि सेवा लिएका नागरिकलाई फोन गरी सेवाको बारेमा सोधपुछ गरे ।
सुरक्षा निकायको निरीक्षण
पहिलो दिन नै उनी जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल २९ गुल्मको निरीक्षणमा पुगे । प्रहरीलाई निष्पक्ष अपराध अनुसन्धान, नागरिकमैत्री सेवा र सुशासनको अनुभूति दिलाउन निर्देशन दिए । सशस्त्र प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न भने ।
स्वास्थ्य सेवा र सचिवालय तयारी
तेस्रो दिन आइतबार गुरुङले गोरखा दरबार, सिटी हल र बसपार्क क्षेत्रको घरदैलो गरे । प्रदेश अस्पताल गोरखाको अवलोकन गर्दै उनले विशेषज्ञ चिकित्सक अभाव र सेवा विस्तारबारे चासो राखे । अस्पताल प्रशासनले चिकित्सकको कमी र थप सेवाको आवश्यकता जानकारी गराएको थियो ।
गुरुङले गोरखामा सचिवालय स्थापनाको तयारीका लागि शक्तिचोकमा कोठा हेरेका थिए । मतदाता भेटघाटमा विकास निर्माण र राम्रो काम गर्न आग्रह गरिएको थियो । आइतबार साँझ उनी काठमाडौं फर्किएका छन् ।

