काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमा प्रवेश गर्नुअघि सभामुख डोलप्रसाद अर्यालसँग भेटघाट गरेका छन्। संसद भवनस्थित सभामुखको कार्यकक्षमा करिब पाँच मिनेटको छलफलपछि उनीहरू दुवैजना एकसाथ बैठकमा सहभागी भएका हुन्।
सचिवालय स्रोतका अनुसार, रास्वपा सभापति लामिछानेको संसद भवनमा छुट्टै कार्यकक्ष नभएकाले उनी प्रायः सभामुखको कार्यकक्ष प्रयोग गर्ने गर्दछन्। यसै क्रममा प्रधानमन्त्री शाह पनि लामिछानेसँगै सभामुखको कार्यकक्षमा प्रवेश गरेका थिए। करिब पाँच मिनेटको भेटवार्तापछि दुवै नेता प्रतिनिधिसभाको बैठकमा प्रवेश गरेका हुन्।
प्रतिनिधिसभाको कार्यसूची
आजको प्रतिनिधिसभा बैठकमा विभिन्न महत्वपूर्ण प्रतिवेदन तथा विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ। बैठकमा न्याय परिषद्, न्याय सेवा आयोग र लोक सेवा आयोगको ६६औं वार्षिक प्रतिवेदन पेस गरिनेछ। यसैगरी, अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक प्रस्तुत गर्ने कार्यक्रम छ।
नेपाल विशेष सेवा ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक २०८३ र राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइने विषय पनि कार्यसूचीमा समावेश छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ र श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१) लाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।






