अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग कूटनीतिक वार्ता गर्ने ढोका अझै खुला रहेको स्पष्ट पारेका छन्। आइतबार मनिला प्रस्थान गर्नुअघि मेरिल्यान्डमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘हामीले इरानसँग पटक-पटक प्रयास गर्यौं र जारी राख्नेछौं। यदि संवादको ढोका खुल्छ भने स्वागत गर्छौं।’
यद्यपि, रुबियोले अमेरिकी रणनीति परिवर्तनका लागि इरानले पहिले आफ्नो व्यवहार सुधार्नुपर्ने सर्त राखे। उनले भने, ‘हाम्रो व्यवहार परिवर्तनका लागि उनीहरूको व्यवहार परिवर्तन हुनुपर्छ।’
अमेरिकी सेनाले इरानमाथि लगातार नवौं रात पनि भीषण हवाई आक्रमण जारी राखेको छ। यसैबीच रुबियोले इरानले प्रत्यक्ष तथा मध्यस्थकर्तामार्फत वार्ताको संकेत पठाइरहेको बताए, तर विस्तृत विवरण दिएनन्।
इरानको पछिल्लो कदमप्रति रुबियोले भने, ‘हामी इरानको व्यवहारको जवाफ मात्र दिइरहेका छौं। उनीहरूले आज पनि पानीजहाजमा मिसाइल र ड्रोन प्रहार गरेका छन्, जुन स्वीकार्य छैन।’
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गको सुरक्षाका लागि शुल्क लिने योजना सार्वजनिक गरेका थिए, तर पछि स्थगित गरे। यसबारे सोधिएको प्रश्नमा रुबियोले अन्य राष्ट्रहरूलाई सहयोगको आग्रह गर्दै भने, ‘सबै जहाजको सुरक्षा अमेरिकाको मात्र जिम्मा होइन। अन्य देशहरूले पनि सैन्य वा आर्थिक सहयोग गर्नुपर्छ।’


