साउनको पहिलो सोमबार आज देशभरका शिव मन्दिरमा भक्तजनको ठूलो भीड लागेको छ। वैदिक सनातन हिन्दु धर्मावलम्बीका लागि यो दिन धार्मिक तथा सांस्कृतिक रूपमा विशेष मानिन्छ।
राजधानी काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहान तीन बजेदेखि नै दर्शनार्थीको लागि ढोका खोलिएको थियो। मन्दिरका चारै ढोका खोलिएसँगै श्रद्धालुको सहज, सुरक्षित र व्यवस्थित दर्शनको प्रबन्ध मिलाइएको छ।
राजधानीका अन्य शिवालयमा पनि भीड
पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको मक्खन महादेवलगायत सबै शिव मन्दिरमा भक्तजनको लाम लागेको छ। कोटेश्वर स्थित महादेव मन्दिरमा पनि बिहान सबेरैदेखि श्रद्धालुको घुइँचो देखिएको थियो।
