काठमाडौँ — कीर्तिपुर नगरपालिका–१ को ट्याङ्लाफाँटमा आज बिहान एक कारमा अचानक आगलागी भएको छ। आगोले कारलाई पूर्णरूपमा क्षतिग्रस्त बनाएको थियो।
आगलागीपछि प्रहरीले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो। त्यसक्रममा कारभित्र एक पुरुषको शव फेला परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। शव पूर्णरूपमा जलेको अवस्थामा रहेको उनले बताए।
स्थानीयका अनुसार आगलागी हुने कारको नम्बर बा ५ च ३०३८ हो। प्रहरी उपरीक्षक सुवेदीले उक्त कार बैंकको नाममा दर्ता रहेको र मृतकको पहिचान नखुलेको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
