काठमाडौं — 'मिसेस नेपाल वर्ल्ड २०२६' का लागि आवेदन खुला गरिएको छ। रिवन इन्टरटेनमेन्ट प्रालिले पत्रकार सम्मेलन गर्दै यो प्रतियोगिताको औपचारिक घोषणा गरेको हो। यो प्रतियोगिता विशेषगरी विवाहित नेपाली महिलाका लागि आयोजना गरिएको भए पनि आवेदन दिन एकल महिला पनि योग्य हुनेछन्।
प्रतियोगिताको पहिलो चरणको अडिसन २३ साउनमा काठमाडौंमा हुने तालिका सार्वजनिक गरिएको छ। फाइनल प्रतिस्पर्धा भने १४ कात्तिकमा आयोजना गरिनेछ। प्रतियोगितामा सहभागी हुनका लागि आवेदकले न्यूनतम एसईई वा सो सरहको शैक्षिक योग्यता पूरा गरेको हुनुपर्नेछ।
अडिसनबाट छनोट भएका प्रतियोगीलाई ४५ दिनसम्म विशेष प्रशिक्षण दिइनेछ। यस प्रशिक्षणमा व्यक्तित्व विकास, सञ्चारकला, नेतृत्व, सार्वजनिक प्रस्तुति, फिटनेस, र्याम्प वाक तथा सामाजिक उत्तरदायित्वजस्ता विषय समावेश रहनेछन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकले प्रतियोगीलाई तयार पार्नेछन्।
प्रतियोगितामा विजेतालाई चार वटा उपाधि प्रदान गरिनेछ — मिसेस नेपाल वर्ल्ड, मिसेस नेपाल इन्टरनेसनल, एमएस इन्टरनेसनल र मिसेस नेपाल कस्मो। मिसेस नेपाल वर्ल्ड विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय स्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछिन्। त्यस्तै, कस्मो उपाधि विजेताले म्यानमारमा आयोजना हुने मिसेस कस्मोमा नेपालको तर्फबाट सहभागिता जनाउने छिन्।
आयोजक संस्थाका सीईओ निशुकान्त झाले विगतका संस्करणमा नेपाली प्रतियोगीले अन्तर्राष्ट्रिय मञ्चमा उल्लेखनीय सफलता हासिल गरेको स्मरण गर्दै यसपालि पनि नयाँ प्रतिभा उदाउने विश्वास व्यक्त गरे। आवेदन रिवन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत वा प्रत्यक्ष आवेदन फाराम भरेर पनि दिन सकिने जनाइएको छ।
