जापानमा आयोजना हुने एसियन गेम्स २०२६ को महिला भलिबल प्रतियोगिताको समूह चरणको ड्र बिहीबार सार्वजनिक भएको छ। ड्र अनुसार नेपाल समूह ‘ए’ मा परेको छ, जहाँ एसियाली शक्तिशाली टोली जापान र दक्षिणपूर्वी एसियाको प्रतिस्पर्धी इन्डोनेसिया रहेका छन्।
नेपाली महिला टोली लगातार दोस्रो पटक एसियन गेम्समा सहभागी हुन लागेको हो। विश्व वरियताको आधारमा एसियाका शीर्ष १६ टोलीमा रहँदै नेपालले प्रतियोगितामा स्थान सुरक्षित गरेको थियो। हाल नेपाल विश्व वरियतामा ६८औं स्थानमा छ भने जापान छैटौं र इन्डोनेसिया ६०औं स्थानमा छन्।
नेपालको लागि यो प्रतियोगिता चुनौतीपूर्ण हुने देखिन्छ। आयोजक जापान एसियाकै बलियो टोली मानिन्छ भने इन्डोनेसिया पनि सशक्त प्रतिस्पर्धी हो। तथापि, नेपाली टोली हाल ‘मिसन २०२६’ अन्तर्गत विशेष तयारीमा जुटेको छ र प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने लक्ष्य राखेको छ।
