काभ्रेपलाञ्चोकमा हरेक वर्षझैं यस वर्ष पनि बोधिचित्त (बुद्धचित्त) सिजन सुरु भएसँगै चोरी, झगडा र बगैंचा विवादका घटनाहरू दोहोरिएका छन् । जिल्लाका विभिन्न स्थानमा दर्जन बढी घटनाहरू भइसकेका छन् । बोधिचित्तको मूल्य उच्च हुँदै गएपछि यससँग सम्बन्धित अपराध र विवादमा पनि वृद्धि भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार यो सिजनमा मात्र बोधिचित्त चोरीका नौ वटा घटना भएका छन् । जेठ २० गतेदेखि असार २५ गतेसम्म धुलिखेल, पनौती, पाँचखाल, भुम्लु, मण्डनदेउपुर र रोशी गाउँपालिकामा चोरीका घटना भएको उनले बताए । कतिपय स्थानमा रुख काटेर दाना लगिएको छ भने कतै मोटरसाइकल प्रयोग गरेर राति चोरी गरिएको अनुसन्धानमा देखिएको छ ।
असार १३ गते पाँचखाल नगरपालिका–१ अनेकोटमा कुलमान तामाङको बोट बीच भागमा काटेर दाना चोरी भएको छ । सोही दिन भुम्लु गाउँपालिका–४ पिनालेमा जनकबहादुर खत्रीको करिब पाँच लाख रुपैयाँ बराबरको माला मोटरसाइकलमा आएका व्यक्तिहरूले चोरे । असार २१ गते भुम्लु–५ कम्राङका सुमन लामा र मण्डनदेउपुर–१ डाँडागाउँका सानुकान्छा तामाङको दाना चोरी भयो । असार २४ गते मण्डनदेउपुर–२ चित्लेका अक्कलबहादुर तामाङ र असार २५ गते रोशी–९ रजवासका मनोरथ भुर्तेलको बोधिचित्त चोरी भएको प्रहरी रेकर्डमा छ । त्यस्तै, असार ७ गते पनौती–११ बल्थलीका सूर्यकुमार तामाङ र जेठ २० गते धुलिखेल–१ मितिन्छापका अजय तामाङको माला चोरी भएको छ ।
चोरीका घटनामा प्रहरीले दुई वटा मुद्दामा संलग्नलाई पक्राउ गरेको छ । धुलिखेल–१ की कान्छी तामाङको करिब सात लाख रुपैयाँको दाना चोरी गरेको आरोपमा सोही स्थानका फुर्साङ तामाङ, रोज तामाङ र फुर्बा तामाङ पक्राउ परेका छन् । त्यस्तै, मण्डनदेउपुर–१२ का सुनबहादुर तामाङको पाँच लाख रुपैयाँको दाना चोरी गरेको आरोपमा सम्राट कामी र भुम्लु–६ का कुमार कामीविरुद्ध मुद्दा दर्ता भएको छ । यसबाहेक जेठ ३० गते धुलिखेल–९ मा रहेको अस्थायी प्रहरी पोस्ट काभ्रेभन्ज्याङको टोलीले चेकजाँचका क्रममा बुद्धचित्तसहित दुई जनालाई पक्राउ गरेको थियो ।
दाना चोरी मात्र नभई दाना टिप्ने अधिकारलाई लिएर पनि विवाद भएको छ । प्रहरीले चार स्थानमा १६ जना प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मिलाएको थियो । धुलिखेल–८ की कृष्णकुमारी बडाल, रोशी–११ का मोहनबहादुर रायमाझी, रोशी–५ लुर्पुङका आइतेसिं थिङ र अन्य, तथा रोशी–६ का शेरबहादुर तामाङको बारीमा दाना टिप्ने विषयमा विवाद भएपछि सुरक्षा दिइएको हो । धुलिखेल–८ मा श्रीमान्–श्रीमतीबीचको विवादका कारण बोटमै सुरक्षा प्रदान गर्नुपरेको डीएसपी विष्टले बताए । उनका अनुसार श्रीमान्–श्रीमती छुट्टाछुट्टै बसेका थिए र दुवैले बोटको दाना बिक्रीका लागि फरक–फरक सम्झौता गरेका थिए । अदालतसम्म पुगेको विवादमा श्रीमान्ले मुद्दा जिते र प्रहरीले माला बेचिसम्म सुरक्षा दिएको थियो । रोशी–११ का रायमाझीको माला किन्ने पार्टनरबीचको विवाद र रोशी–५ लुर्पुङमा बोट धनी तीन जनाले छुट्टाछुट्टै कागज गरेर बेचेका कारण विवाद बढेको थियो ।
डीएसपी विष्टले भने, “बोधिचित्तको मूल्य बढ्दै जाँदा पहिले नै व्यापारीसँग भएको सम्झौता तोडेर बढी मूल्य दिने अर्को व्यापारीलाई बिक्री गर्न खोज्ने प्रवृत्तिका कारण हरेक वर्ष यस्ता विवाद दोहोरिने गरेका छन् ।”
काभ्रेपलाञ्चोकको तेमाल र रोशी गाउँपालिका बोधिचित्त खेतीका प्रमुख क्षेत्र हुन् । पछिल्ला वर्षहरूमा राम्रो बजार मूल्यका कारण जिल्लाका अन्य स्थानीय तहमा पनि बोधिचित्त खेती विस्तार हुँदै गएको छ । उत्पादन र व्यापार बढ्दा पनि दाना टिप्ने अधिकार, खरिद सम्झौता र चोरीका घटनाले सुरक्षा चुनौती दोहोरिँदै आएको छ । बुद्धचित्तको दाना संकलन तथा प्रशोधनको समय असारदेखि असोजसम्म रहन्छ । चीनमा यसको अत्यधिक माग भएपछि व्यापारीहरूले स्थानीयको बोटमै गएर टिप्नुअगावै मूल्य तिर्ने गरेका छन् । एक मालामा १०८ वटा दाना भए राम्रो खालको माला बन्यो भने न्यूनतम ३० हजारदेखि अधिकतम ८ लाख रुपैयाँसम्म मूल्य आउने व्यवसायीको भनाइ छ ।
