मुख्य सामग्रीमा जानुहोस्

कप्तानगञ्जमा सशस्त्र प्रहरीको गोलीबाट एकको मृत्यु, आठ घाइते, रास्वपा सांसदद्वारा प्रहरीको भूमिकामाथि प्रश्न

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको झडपपछि सशस्त्र प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । घटनास्थल पुगेका रास्वपा सांसद लालविक्रम थापाले प्रहरीले मानवता नै नदेखाई गोली चलाएको दाबी गरेका छन् ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको झडपका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । गोली लागेका अन्य आठ सर्वसाधारण विभिन्न अस्पतालमा उपचाररत छन् । झडपमा केही प्रहरीसमेत घाइते भएका छन् । स्थानीय प्रशासनले थप हिंसा रोक्न कर्फ्यु जारी गरेको छ ।

घटनाको रात नै कप्तानगञ्ज नयाँ हटिया पुगेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद लालविक्रम थापाले सुरक्षाकर्मीको भूमिकामाथि प्रश्न उठाएका छन् । सुनसरी–२ बाट निर्वाचित सांसद थापाले प्रहरीले १० जनालाई ताकीताकी छाती र पेटमा गोली हानेको दाबी गरेका छन् । प्रहरी अधिकारीहरूसँगको ब्रिफिङको भिडिओ उनले आफ्नो फेसबुकमा राखेका छन् ।

सांसद थापाको प्रतिक्रिया

थापाले घटनास्थलमा पुगेर प्रहरीको भूमिकाप्रति गम्भीर प्रश्न उठाएका छन् । उनले भने, 'मलाई शंका छ — गोली लागेका व्यक्तिहरूलाई कतै खाल्टोमा हालेको छ कि ? किनभने १० जनालाई ताकेर एकको छातीमा, अर्काको पेटमा गोली हानिएको छ ।' उनले घटना दर्दनाक रहेको बताउँदै प्रहरीको लापरबाहीले नागरिकमाथि निर्ममतापूर्वक गोली चलाएको आरोप लगाए ।

थापाले प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी उपरीक्षक (एसपी) लाई फोन गर्दा जानकारी नभएको र फोन नउठाएको गुनासो गरे । उनले भने, 'यो घटनामा गोली चलाउनु पर्ने अवस्था थिएन । नयाँ सरकार आएको छ, यस्तो घटनाले देशव्यापी असर पार्न सक्छ ।'

यस घटनाप्रति संयमित रहनुपर्ने बताउँदै उनले घाइतेको उपचार र न्यायको माग गरेका छन् । प्रशासनले भने घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।