म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतमा गएराति आएको पहिरोले ७० वर्षीय लालवीर छन्त्याललाई पुरिदै मृत्यु भएको छ। उनी घरमा सुतिरहेको अवस्थामा पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार छन्त्यालको घर पूर्णरूपमा ध्वस्त भएको छ।
त्यसैगरी, धवलागिरि गाउँपालिका–७ धारापानीको हाडेभिरमा पहिरोमा पुरिएकी ६३ वर्षीया धनकुमारी थापालाई भने सकुशल उद्धार गरिएको छ। इलाका प्रहरी कार्यालय दरबाङको टोली र स्थानीयवासीको सहयोगमा उनलाई निकालिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए। थापाको अवस्था सामान्य रहेको जनाइएको छ।
गएरातिदेखि परेको वर्षाका कारण म्याग्दीका विभिन्न स्थानमा पहिरो गएको छ। सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्र जोड्ने अधिकांश सडक अवरुद्ध बनेका छन्। कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक पनि पहिरोले अवरुद्ध भएको छ। सडक योजना तथा पूर्वाधार विकास कार्यालय र स्थानीय तहहरूले अवरुद्ध सडक खुलाउन प्रयासरत रहेको प्रहरीले जनाएको छ।
पहिरोले विभिन्न स्थानमा पशुचौपाया तथा भौतिक संरचनामा क्षति पुर्याएको छ। क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। स्थानीय प्रशासनले थप सतर्कता अपनाउन आग्रह गरेको छ।
