मिशिगनको ग्रान्ड हेभेन टाउनशिपमा एक घरमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । ओटावा काउन्टी प्रहरी कार्यालयले शुक्रबार आगलागीको सूचना पाएपछि घटनास्थलमा पुग्दा दुई वयस्क र छ जना बालबालिकाको शव भेटिएको जनाएको छ । सबैको शरीरमा गोलीका घाउ रहेकोले यसलाई संदिग्ध मृत्युको रूपमा अनुसन्धान गरिएको छ ।
प्रहरीले सोमबार मृत वयस्कको पहिचान ४७ वर्षीय क्रिस्टोफर कारोल्किविज र ३९ वर्षीया अमान्डा कारोल्किविजको रूपमा गरेको छ । बालबालिकाको नाम सार्वजनिक गरिएको छैन, तर प्रहरीका अनुसार चार जना केटा (१५, १२, ११ र ५ वर्षका) र दुई जना केटी (दुवै ११ वर्षका) रहेका छन् । तीमध्ये दुई बालबालिका धर्मपुत्री हुन् ।
प्रहरी कार्यालयले एक विज्ञप्तिमा भनेको छ, 'प्रारम्भिक संकेत अनुसार यो आगो घरभरि धेरै ठाउँमा जानीजानी लगाइएको थियो । परिवारका घरपालुवा जनावरको पनि आगो वा धुवाँले मृत्यु भयो ।' अनुसन्धानमा मिशिगन राज्य प्रहरीका आगजनी अनुसन्धानकर्ता पनि संलग्न छन् ।
प्रहरीले पिता क्रिस्टोफरलाई नै यस आत्महत्या–हत्याको संदिग्ध मानेको छ । उनले हत्यापछि घरभरि आगो लगाएको आशंका गरिएको छ । ग्रान्ड हेभेन फायर डिपार्टमेन्टले शुक्रबार बिहान ८:३० देखि ९ बजेको बीचमा धुवाँको गन्धबारे सूचना पाएको थियो, तर त्यसबेला आगो पत्ता लगाउन सकेन । पछि ११:४५ बजेर १५ मिनेटमा रिभरसाइड ट्रेलको १४९०० ब्लकबाट सेतो धुवाँ देखिएपछि फेरि फायर बिभाग पुगेको थियो ।
अमान्डाका सौतेनी बुबा स्टिभ लाविलले भने, 'हामी धेरै टुक्रिएका छौं । उनीहरूले हाम्रो जीवनमा ल्याएको खुशीको लागि म धेरै आभारी छु ।' अमान्डाले आफ्नो टिकटक खातामा गत जुलाईमा धर्मपुत्री छोरीहरूलाई चीनको सांघाई डिज्नी ल्यान्ड घुमाएको भिडियो पोस्ट गरेकी थिइन् ।
प्रहरीले यस घटनामा अन्य कुनै संदिग्ध नरहेको र अनुसन्धान जारी रहेको जनाएको छ ।
