माइक्रोसफ्टको एक्सबक्स सेवामा ठूलो अवरोध आएको छ। कम्पनीको गेमिङ विभागले आफ्नो अनलाइन इकोसिस्टमका धेरै भागहरूमा समस्या भएको पुष्टि गरेको छ।
एक्सबक्सको आधिकारिक स्टेटस पेजका अनुसार चार सेवाहरूमा 'ठूलो आउटेज' भएको छ: खाता र प्रोफाइल, गेम्स र गेमिङ, स्टोर र सब्सक्रिप्सन, तथा एप्स र मोबाइल। खाता र प्रोफाइल सेवामा प्रयोगकर्ता साइन–इन गर्न नसक्ने, बीचमै डिस्कनेक्ट हुने वा साइन–इन आवश्यक पर्ने सुविधाहरूमा पहुँच गुम्न सक्ने चेतावनी दिइएको छ। स्टोर र सब्सक्रिप्सनमा केही गेम स्टोरमा नदेखिने समस्या रहेको छ भने एप्स र मोबाइल सेवामा एप लन्च गर्न कठिनाइ भएको छ। चारै सेवाको समस्या पहिचान गरिएको तर समाधान बाँकी रहेको जनाइएको छ।
आउटेज ट्र्याकिङ साइट डाउनडिटेक्टरको तथ्यांकअनुसार ६५ प्रतिशत उजुरी गेम लन्च गर्न नसक्नेसँग सम्बन्धित छन्, १३ प्रतिशत गेमप्ले समस्या र १२ प्रतिशत सर्भर जडान समस्याका छन्।
एक्सबक्स सपोर्टले आइतबार बिहान समस्या स्वीकार गर्दै इन्जिनियरहरूले साइन–इन, गेम लाइब्रेरी र गेम लन्चमा देखिएको त्रुटिलाई कम गर्न सक्रिय रूपमा काम गरिरहेको बताएको थियो। पछि टोली एक्सबक्सले अपडेट जारी गर्दै धैर्यताको आग्रह गरेको छ।
यो आउटेज प्लेस्टेसन नेटवर्कमा गत हप्ता भएको धेरै घण्टाको अवरोधपछि आएको हो।
