मुख्य सामग्रीमा जानुहोस्

नेदरल्यान्ड्ससँग ५७ रनले पराजित, त्रिदेशीय शृङ्खलामा नेपाल विनाविजय

नेपालले आइसिसी विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ५७ रनको हार बेहोरेको छ। युट्रेक्टमा भएको खेलमा नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४८ ओभरमा १६८ रनमा अलआउट भयो।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ५७ रनको हार बेहोरेको छ। युट्रेक्टमा बुधबार भएको खेलमा नेपाल विनाविजय रहँदै शृङ्खला समाप्त गरेको हो।

नेदरल्यान्ड्सले पहिला ब्याटिङ गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २२५ रन बनायो। नोआ क्रोसले ७० र कप्तान स्कट एडवर्ड्सले ५७ रनको योगदान दिए। नेपालका करण केसीले १० ओभरमा ३० रन खर्चेर ४ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले दुई तथा हेमन्त धामी र ललित राजवंशीले एक–एक विकेट हात पारे।

लक्ष्य पछ्याउन असफल

२२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा १६८ रनमा अलआउट भयो। आसिफ शेखले ३८, रोहित पौडेलले २६ र करण केसीले २३ रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो साथ दिन सकेनन्। नेदरल्यान्ड्सका काइल क्लेनले तीन, लोगान भान बीक, रोलोफ भान डर मर्वे र जाच लायन–क्याचेले दुई–दुई विकेट लिए।

यसअघि शृङ्खलामा नेपालले नामिबियासँग आठ विकेट र तीन रनले तथा नेदरल्यान्ड्ससँग छ विकेटले हार बेहोरेको थियो।

अंक तालिकामा नेदरल्यान्ड्स दोस्रो

यो जितसँगै नेदरल्यान्ड्स लिग–२ को अंक तालिकामा ३१ खेलबाट ३८ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। नेपाल भने ३२ खेलमा २४ अंकसहित छैटौं स्थानमा छ। संयुक्त राज्य अमेरिका ४३ अंकसहित शीर्ष स्थानमा कायम छ।