१७ साउन, काठमाडौं । भुटान राष्ट्रिय महिला लिगको पहिलो खेलमै पारो एफसीले ट्रान्सपोर्ट युनाइटेड लेडिजलाई ५–१ गोलअन्तरले हराएको छ। नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रेनुका नगरकोटे र सरु लिम्बुले पारो एफसीका लागि पहिलो खेलमै गोल गर्दै टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका हुन्।
आइतबार भएको खेलमा रेनुका र सरुले भुटानको लिगमा पहिलो पटक खेलेका हुन्। दुवै खेलाडीले गोल गरेपछि पारो एफसीले सहज जित निकाल्यो।
पारोको ५–१ जित
पारो एफसीका लागि रेनुका र सरुबाहेक केल्जाङ वाङ्ग्मो, काड्डी जालो र उडे कोलेले पनि एक–एक गोल गरे। ट्रान्सपोर्ट युनाइटेडका लागि भने योशी छोदेनले एक गोल फर्काइन्। उनको गोल रश्मि घिसिङको असिस्टमा भएको थियो।
खेलमा सानदार प्रदर्शन गरेकी रेनुका नगरकोटे प्लेयर अफ द म्याच घोषित भइन्।
ट्रान्सपोर्टमा सात नेपाली खेलाडी
ट्रान्सपोर्ट युनाइटेड लेडिज टोलीमा सात नेपाली खेलाडी रहेका छन्। तीमध्ये राष्ट्रिय टोलीकी गीता राना, रश्मि कुमारी घिसिङ, दीपा शाही, मिना देउवा र प्रतिक्षा चौधरीले सुरुआती रोजाइमै खेलेका थिए। यीबाहेक अनिता केसी र समिक्षा घिमिरे पनि ट्रान्सपोर्ट युनाइटेडमा आबद्ध छन्।
नेपाली फुटबल गतिविधि ठप्प हुँदा विदेशी लिगतर्फ खेलाडी
फिफाले एन्फालाई निलम्बन गरेपछि नेपालमा फुटबल गतिविधि सञ्चालन हुन नसकेको छ। यसैकारण नेपाली खेलाडीहरू भुटानलगायत विदेशका लिगमा गएर खेल्न बाध्य छन्। रेनुका र सरुसहितका नेपाली खेलाडीहरू भुटान राष्ट्रिय महिला लिगमा सहभागी भएका हुन्।
