पोखरालाई आठ विकेटले पराजित गर्दै लुम्बिनीले आफ्नो लय कायम राखेको छ। पहिले ब्याटिङ गरेको पोखराले नौ विकेट गुमाएर ९७ रन बनाएको थियो। सोही लक्ष्य लुम्बिनीले ११.४ ओभरमै दुई विकेटको क्षतिमा ९८ रन बनाएर पूरा गर्यो।
लुम्बिनीको जितमा कप्तान रोहित सर्वाधिक रन बनाउने खेलाडी बने। उनी नटआउट रहँदै ४७ रनसम्म पुगे। अर्का ओपनर निरोशन डिकवेलाले २७ रन जोडे। यी दुईले तेस्रो विकेटका लागि ७७ रनको साझेदारी गरे, जसले लक्ष्यसम्म पुग्ने बाटो सहज बनायो।
खेलको प्लेयर अफ द म्याच रुबेन ट्रम्पलमेन घोषित भए। उनले १६ रन खर्चिएर तीन विकेट लिएका थिए। खेलपछि उनले लुम्बिनीका लागि राम्रो प्रदर्शन गर्न सकेकोमा खुसी व्यक्त गरे। लुम्बिनी आफूलाई आफ्नै परिवारजस्तो लाग्ने उनको भनाइ छ। गत सिजन उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए।
पोखराका लागि भने यो लगातार तेस्रो हार हो। टिम अंकविहीन अवस्थामा आठ टिमको तालिकाको सबैभन्दा तल पुगेको छ। यस हारले प्लेअफमा पुग्ने सम्भावना पनि निकै कमजोर बनाएको छ। अहिलेसम्म प्लेअफ नखेल्ने टिममा पोखरा एक्लो रहेको छ।
हारपछि पोखराका कप्तान कुशल भुर्तेलले निराशा व्यक्त गरे। अन्तिम तीन खेलमा टिमको प्रदर्शन राम्रो नरहेकाले धेरै बोल्ने अवस्था नभएको उनले बताए। के भइरहेको छ भन्न पनि गाह्रो रहेको र ब्याटिङ तथा बलिङ दुवै पक्ष राम्रो नभएको उनको भनाइ छ।







