मुख्य सामग्रीमा जानुहोस्

ओमप्रकाश र जयप्रकाशको निधनपछि कप्तानगञ्जको बजार बन्द, समाज विभाजित

सुनसरीको कप्तानगञ्जमा प्रहरी गोलीबाट ओमप्रकाश र जयप्रकाश मेहताको मृत्यु भएको आठ दिनसम्म पनि बजार बन्द छ। स्थानीयवासीले पुरानै सामाजिक सद्भाव कायम गर्न र दोषीलाई कानुनी कारबाहीमा ल्याउन माग गरेका छन्।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

सुनसरीको कप्तानगञ्जमा साउन १७ गतेसम्म घटनाको आठ दिन बितिसक्दा पनि त्यहाँको जनजीवन सामान्य हुन सकेको छैन । भड्किएको भीडमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहता र जयप्रकाश मेहताको ज्यान गएको थियो । त्यसयता देवानगञ्जदेखि कप्तानगञ्ज बजारसम्मका विभिन्न ठाउँमा आगजनी भएका संरचनाका अवशेष अझै देखिन्छन् ।

यहाँ पुस्तौंदेखि मिलेर बस्दै आएका छिमेकीहरू अहिले धर्मका आधारमा छुट्याइन थालिएका छन् । धर्मको नाममा समाजमा अशान्ति निम्त्याउने केही तत्वले एउटै गाउँका युवाको बीच वैमनस्य बढाइदिएपछि अहिले सबैतिर सन्देह र उकुसमुकुस छ ।

परिवारको शोक र आमाको पीडा

ओमप्रकाशकी आमा सीतादेवी मेहता छोरा प्रकाशविना आफ्नो जीवन कसरी चल्छ भनेर बारम्बार भन्ने गर्छिन् । छोरो फर्केर आउने छैन भन्ने सत्य स्वीकार गर्न उनलाई कठिन भइरहेको छ । कतिबेला ढल्ने, कतिबेला बौरिने उनको अवस्था छ ।

घटना सुनाउँदा बुबा कृष्णदेव पनि भक्कानिन्छन् । दाजुको शोकमा बसेका भाइ, सासु सम्हाल्दै गरेकी बुहारी र घरका साना बालबालिका सबैको आँखा ओमप्रकाशलाई नै खोजिरहेका छन् । उनले यसपटक पक्की घर बनाएर विवाह गर्ने तयारीसमेत गरेका थिए ।

ओमप्रकाश बित्नुअघि आफ्नै घरको भित्तामा टाँसेको घडीको सुई पनि ठप्प छ । दिउँसोको समय हुँदा पनि घडीले करिब पौने छ बजेको देखाउँछ । समयसँगै हिँड्ने अभ्यस्त उनी नै नभएपछि घरमा उनले बनाउँदै गरेका काम पनि समयकै सुईझैं रोकिएका छन् ।

बजार बन्द, व्यापारी आशंकामा

घटनापछि कप्तानगञ्ज बजारका पसलहरू खुलेका छैनन् । आफ्नो पसलमा ताला लगाएर गाउँलेहरू घरभित्रै बसिरहेका छन् । अनुगमन, अनुसन्धान र रिपोर्टिङका नाममा विभिन्न मान्छे आइरहे पनि स्थानीय खुलेर कुरा गर्न चाहँदैनन् ।

बजारमा सेना, सशस्त्र प्रहरी र प्रहरीका गाडीको ओहोरदोहोर बढे पनि उनीहरूलाई शान्तिको अनुभूति भइरहेको छैन । बरु यहाँका केही उच्छृंखल युवाका कारण घटना भएको भन्दै स्थानीयहरू यसको घाउ चाँडै निको होस् भन्ने चाहना राख्छन् ।

५९ वर्षीय गणेशप्रसाद मेहताले जन्मेदेखि कप्तानगञ्ज कहिल्यै नछोडेको बताउँछन् । बजारमै पसल गरेर जीवन चलाउँदै आएका उनी अहिले डर र प्रशासनको निषेधाज्ञाका कारण पसल खोल्न सकिरहेका छैनन् । उनी भन्छन्, “अहिले बजारमा घटनाकै कुरा चल्छ । कहिले को आउँछ, कहिले को आउँछ । हामी शान्तिको प्रतीक्षामा बसेका छौं, तर मनमा पीडा पनि उत्तिकै छ ।”

पुरानो सद्भाव फर्काउने चाहना

ओमप्रकाशसँग मिलेर हिँड्ने जाबिर आलम र हजरत मन्सुरी उनको घरसम्म गएर शोक मान्न सकेका छैनन् । खसीबाख्राको व्यापार गर्ने जाबिर आलम आठ दिनदेखि घरबाट बाहिर निस्कन नसकेको बताउँछन् । पारिपट्टिबाट चिनेको भाइको मृत्यु भए पनि भेट्न नपाउँदा उनी थप व्यथित छन् ।

स्थानीय शिव मन्दिरका पुजारी शंकर गिरीले आफूले आजसम्म हिन्दुले मुस्लिमलाई वा मुस्लिमले हिन्दुलाई दुःख दिएको नदेखेको बताए । धर्मका नाममा लड्ने चलन यस समाजको संस्कारमा नभएको उनको भनाइ छ ।

कप्तानगञ्ज पहिलेदेखि नै मिश्रित समाज हो । मुस्लिम समुदायले मोहरम मनाउँदै आएका छन्, हिन्दुहरू बोलबम जाने गरेका छन् । एकले अर्को समुदायलाई सम्मान गर्दै यहाँको समाज अघि बढेको स्थानीय बताउँछन् । धर्म र झण्डाका नाममा आफूहरूबीच कुनै मतभेद नरहेको उनीहरूको भनाइ छ ।

स्थानीयवासीको एउटै माग घटनाका दोषीलाई कानुनको दायरामा ल्याउनुपर्ने छ । सलिम मियाँले भनेझैं दोषी हिन्दु होस् वा मुस्लिम जसले जे गरे पनि कारबाही हुनुपर्छ । दोषी दोषी नै हो, धर्मका आधारमा उसलाई छुट्याउन नहुने उनको भनाइ छ ।