चितवनका लेखक विनोदबाबु रिजालको कथासङ्ग्रह ‘नैबेद’ पाठक र साहित्यकारबीच चर्�्चाको केन्द्रमा छ । १४ कथा समेटिएको यो कृतिले विविध विषय उठान गर्दै नयाँ स्वाद दिएको भन्दै शनिबार आयोजित एक कार्यक्रममा सहभागीहरूले आ-आफ्नो धारणा राखेका छन् ।
गत २० असारमा सार्वजनिक भएको किताबबारे लेखक रिजालले शनिबार केही प्रतिनिधि पाठकलाई भौतिक रूपमै भेटेर उनीहरूको प्रतिक्रिया सुनेका थिए । सम्पूर्ण किताब नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा चितवनका लेखक, साहित्यकार, साहित्यिक सङ्घसंस्थाका प्रतिनिधि, समीक्षक तथा पाठक सहभागी थिए ।
कार्यक्रममा रिजालले पाठकसमक्ष ‘नैबेदमा के छ ?’ भन्ने प्रश्न राखेका थिए । आफ्नो धारणा राख्दै उनले लेखन सकिएपछि लेखकको काम सकिने र कथा के भयो वा के भएन भन्ने मूल्याङ्कन पाठककै भागमा पर्ने बताए । सहभागीहरूको साझा प्रतिक्रिया भने कृतिको पक्षमा रह्यो — कथाहरूले धेरै क्षेत्र समेटेका छन्, पढ्दा आनन्द आउँछ र भाषा सरल छ ।
संवाद र महिला पात्रको प्रशंसा
साहित्यकार डीआर पोखरेलले रिजालसँग कथा भन्ने राम्रो शैली रहेको र उनले निर्माण गरेको संवादको संरचना निकै उत्कृष्ट भएको बताए । सेवानिवृत्त शिक्षा प्रशासक बाबुराम दवाडीले पनि सोही कुरामा सहमति जनाउँदै राष्ट्रियस्तरका भनिने कथाकारको तुलनामा रिजालको स्तर कम नरहेको टिप्पणी गरे ।
कवि सूर्यवदना हमालले कथाहरू निकै मर्मस्पर्शी लागेको बताइन् । घर छोड्न बाध्य महिलाले बच्चासँग छुट्दा देखाएको मायाले आफ्नो आँसु झारेको उनको भनाइ छ । पाठकको मन छुनु नै कथाकारको सफलता भएको उनले जनाइन् ।
कवि मेनका चापागाईंले कथाहरूमा विविधता हुनु सङ्ग्रहको सबैभन्दा सबल पक्ष भएको र महिला पात्र सशक्त रूपमा प्रस्तुत भएको बताइन् ।
‘टाई’ र ‘भोग’ कथामाथि चर्चा
कवि तथा शिक्षक विपिन पाठकले ‘भोग’ कथालाई सङ्ग्रहकै सबैभन्दा बलियो कथा भने । शैक्षिक बेथितिविरुद्ध लेखिएको ‘टाई’ कथामाथि पनि कार्यक्रममा धेरै चर्चा भयो । विद्यालय शिक्षाका कमजोरी र गरिब विद्यार्थीका बाध्यता यसले देखाएको सहभागीहरूले बताए ।
कविलास माध्यमिक विद्यालयका शिक्षक राजुकुमार सापकोटाले आफू कार्यरत विद्यालयमा एकै वर्ष पाँच जना विद्यार्थीले आत्महत्या गरेको घटना सम्झिए । ती विद्यार्थीले टाईकै कारण आत्महत्या गरेका नभए पनि त्यो अवस्थासम्म पुग्ने परिवेश र बाध्यता उस्तै रहेको उनले जनाए । आफूहरूको विद्यालयमा कमजोरी रहेको र सिकाउने पद्धतिमै समस्या रहेको पनि उनले स्वीकार गरे ।
सुधारका सुझाव
समालोचक रमेश प्रभातले कथाहरू मध्यमस्तरभन्दा माथि रहेको टिप्पणी गर्दै यस्तो छलफल चितवनबाट अन्य जिल्लामा पनि विस्तार गर्नुपर्ने बताए । सहभागी पाठकहरूले भने किताबका केही कमजोरी पनि औँल्याए । वर्णविन्यास तथा केही घटना प्रस्तुतिमा समस्या रहेको उनीहरूको भनाइ छ । केही साहित्यकारले वैचारिक स्पष्टता र सन्देशका दृष्टिले अलमल नहुने कथा आगामी दिनमा आउनुपर्ने सुझाव दिए ।
पहिलो कृतिले बनाएको उचाइ कायम राख्नु लेखकका लागि चुनौती हुने पत्रकार तथा अध्यापक मधुसूदन दवाडीको टिप्पणी छ । उचाइ हासिल गर्नुभन्दा त्यसलाई निरन्तरता दिन कठिन हुने भन्दै उनले आगामी कृतिलाई अझ उच्चस्तरको बनाउन धेरै मेहनत गर्नुपर्ने बताए ।
आफूलाई दिइएका सुझाव मननयोग्य रहेको भन्दै कथाकार रिजालले कथा कस्ता भए भन्ने विषयमा पाठक स्वच्छन्द हुनुपर्ने बताए । कार्यक्रम सहजीकरण गरेका सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले चितवनका कृतिहरूमध्ये थोरै समयमै धेरै चर्चा पाउने किताबमा ‘नैबेद’ पनि परेको जनाए ।







