सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज बजारमा गत आइतबार राति भएको झडपपछि सुरु भएको तनाव एक साता बितिसक्दा पनि कायमै छ । गृहमन्त्री सुधन गुरुङले आएर पीडित परिवारसँग सातबुँदे सहमति गरेका छन्, तर बजारका पसल बन्द छन्, सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ र स्थानीयवासीमा त्रास उस्तै छ ।
सेना र प्रहरीका फौजहरू खटिएर कप्तानगञ्जका विभिन्न चोकमा चौबीसै घण्टे पहरा भइरहेको छ । यति हुँदा पनि गाउँमा अशान्तिको आभास भने कायमै छ । आइतबार बिहान साढे ११ बजे श्रीराम चोकमा अर्धचेत अवस्थामा एक महिला पुगेपछि त्यहाँको माहोल एकाएक तातियो ।
देवानगञ्ज–४ की ३३ वर्षीया सरस्वतीकुमारी मेहताको टाउकोमा गुलेलीको निशान थियो । घाँस काट्न गएका बेला उनलाई कसैले गुलेलीले हानेको बताइएको छ । उनलाई हतारहतार एउटा क्लिनिकमा लगियो । आक्रमणको आरोप अर्को समुदायमाथि लगाउँदै टोलका महिला चर्को स्वरमा कराउन थाले । गुलेली हान्ने व्यक्तिको भने पहिचान भइसकेको थिएन ।
चोकमा चहलपहल बढेपछि सुरक्षाकर्मी सडकमा खटिए । नाराबाजी भयो । देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन मेहता आएपछि एम्बुलेन्सबाट महिलालाई न्यूरो अस्पताल पठाइयो । सुरक्षा सतर्कता बढाएपछि आन्दोलनकारी शान्त भए ।
प्रहरी गोलीबाट दुईको मृत्यु, तनाव फैलियो
गत आइतबार राति साढे १० बजे प्रहरीले चलाएको गोली लागेर स्थानीय ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो । सोही घटनामा १० जना घाइते भए, जसमध्ये आठ जनाको उपचार भइरहेको छ । यही घटनापछि कप्तानगञ्जमा विरोध प्रदर्शन, तोडफोड र आगजनी भएको थियो ।
तनाव सुरु हुनुको तात्कालिक कारण शिव मन्दिरमा चढाउने पानी लिन जाँदा बजाइएको डिजे देखाइएको थियो । तर एक महिनाअघि मोहरम पर्वका क्रममा बजारमा गाडिएको झण्डा नहटाइएको विवाद मुख्य रहेको स्थानीय बताउँछन् । झण्डासम्बन्धी विवाद गाउँपालिका र इलाका प्रहरी कार्यालयसम्म पुगेको थियो । प्रशासनले त्यसलाई सामान्य रूपमा लिएपछि आइतबार राति झडप भएको थियो ।
घटनापछि सोमबार प्रदर्शन भयो र प्रशासनले कर्फ्यु आदेश जारी गर्यो । कर्फ्यु उल्लङ्घन गर्दै प्रदर्शन, तोडफोड र नाराबाजी भयो । विवाद इनरुवासहितका बजार र मधेश प्रदेशका विभिन्न स्थानमा फैलियो । मंगलबार प्रदर्शन झन् उग्र बन्दा घरपसलमा आगजनी र तोडफोड भयो । बुधबार देवानगञ्ज बजारको अवस्था नियन्त्रणबाहिर गएपछि बिहीबार राति गृहमन्त्री गुरुङ सुनसरी आएका थिए । रातभरको छलफलपछि शुक्रबार बिहान पीडित परिवारसँग सातबुँदे सहमति भयो ।
सहमतिमा मृतकलाई शहीद घोषणा गर्ने, परिवारलाई राहत दिने, घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने, मृतकका परिवारका सदस्यलाई रोजगारीको प्रत्याभूति दिनेलगायत विषय समेटिएका छन् । सहमतिपछि मृतकका परिवारले शव बुझेर गोली लागेकै स्थानमा दाहसंस्कार गरे । त्यसपछि प्रशासनले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको छ । जोखिम कायमै रहेकाले सुरक्षा सतर्कता पनि उच्च बनाइएको छ ।
सम्बन्ध सुधार्न समय लाग्ने, दोषी कारबाहीको माग
कप्तानगञ्ज बजारमा आठ दिनदेखि व्यापार व्यवसाय ठप्प छ । एक समुदाय श्रीराम चोकसम्म पुगेर प्रदर्शन गर्छ भने चोकदेखि १०० मिटर दक्षिण रहेको अर्को समुदाय चोकसम्म आउन पाएको छैन । लामो समयदेखिको आत्मीय सम्बन्ध रहे पनि अहिले साथीभाइलाई भेट्नसमेत नपाएको स्थानीय जाबिर आलम बताउँछन् । उनका अनुसार दोषीलाई कडा कारबाही गरे सम्बन्ध सुधार्न सकिन्छ ।
स्थानीय विजय मेहता दुवै पक्ष सामाजिक सद्भाव कायम राख्दै अघि बढ्न चाहेको बताउँछन्, तर बेलाबेला हुने उच्छृङ्खल गतिविधिले सम्बन्धमा असर पारिरहेको छ । आइतबार महिलामाथि गुलेली आक्रमण भएपछि सामाजिक सम्बन्ध झन् धुमिल बनेको छ ।
खसीबोका व्यापारी हजरत मन्सुरी विराटनगरका बजारमा पुर्याउनका लागि गाउँमा खसीबोका संकलन गर्छन् । तनाव सुरु भएयता उनी घरबाट निस्कन पाएका छैनन् । हिन्दु समाजसँगको व्यापारिक सम्बन्धका कारण परिवार चलेको भन्दै उनले चोकसम्म जान नपाएको र साथीभाइसँगको भेटघाटसमेत ठप्प भएको गुनासो गरे ।
छोरा ओमप्रकाश मेहता गुमाएका कृष्णदेव मेहताको परिवार विक्षिप्त अवस्थामा छ । उनी दोषीलाई कारबाही गरी सामाजिक सम्बन्ध पुरानै अवस्थामा फर्किएको हेर्न चाहन्छन् । अब अरू कसैले सन्तान गुमाउनु नपरोस् भन्ने उनको चाहना छ ।
स्थानीय रामनारायण मेहता भने सम्बन्ध सुधारका लागि खासै पहल नभएको बताउँछन् । गृहमन्त्रीसँग सातबुँदे सहमति भए पनि दोषीमाथि कारबाहीको प्रक्रिया अघि नबढेको उनको गुनासो छ । दोषीलाई कारबाही नगरिए थप उत्पात हुने उनले बताए ।
देवानगञ्ज गाउँपालिका उपाध्यक्ष कुमारी विभा यादव घटनाले सामाजिक सम्बन्ध बिगारेको र त्यसलाई पुरानै अवस्थामा फर्काउन समय लाग्ने बताउँछिन् । पहिले को हिन्दु र को मुस्लिम भन्ने नै नभई सबै मिलेर बस्ने गरेको उनको भनाइ छ ।
कप्तानगञ्जमा खटिएका सुरक्षाकर्मीको बुझाइमा गृहमन्त्रीको आगमनपछि स्थानीयमा केही सकारात्मक प्रभाव परेको छ । तर यो आगमन समयमै भएको भए सुनसरी र अन्य जिल्लामा यति ठूलो क्षति नहुने उनीहरूको आकलन छ ।
अधिकांश स्थानीयवासी तनाव लम्ब्याउन नचाहने र आपसी सम्बन्ध सुधार्न चाहने पक्षमा छन् । तर शान्ति भङ्ग गर्न खोज्ने तत्व सक्रिय रहेकाले सुनसरी र अन्यत्र तनाव फैलिएको उनीहरूको बुझाइ छ । घटनाका संलग्नलाई राज्यले पक्राउ गरे दुई समुदायबीचको सम्बन्ध सुधारको बाटो सहज हुने स्थानीयको अपेक्षा छ ।
