काठमाडौँ, १७ साउन । पेसएक्स स्पोर्ट्सको आयोजनामा भएको पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिताको उपाधि मेन्टेन एफसीले हात पारेको छ।
बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा आइतबार सम्पन्न फाइनलमा मेन्टेन एफसीले होराक एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गरेको हो। निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिएपछि विजेता छुट्याउन पेनाल्टी सुटआउटको सहारा लिइएको थियो।
फाइनलमा उत्कृष्ट पुनरागमन
फाइनल खेलको सुरुवातमै होराकले अग्रता लिएको थियो। खेलको दोस्रो मिनेटमा सन्दीप कार्कीले गोल गरेपछि होराक अगाडि देखियो। मेन्टेनका रविन चौलागाईंले बराबरी गोल फर्काए। नवौँ मिनेटमा सैलेन्द्र मगरले गोल गरेपछि होराकले पहिलो हाफ २–१ ले आफ्नो पक्षमा पारेको थियो।
दोस्रो हाफमा होराकले अर्को गोल थप्दै ३–१ को बलियो अग्रता बनायो। तर, अन्तिम समयमा मेन्टेनका योगेश श्रेष्ठले लगातार दुई गोल गर्दा खेल ३–३ को बराबरीमा पुग्यो। त्यसपछि पेनाल्टी सुटआउटमा मेन्टेनले बाजी मारेको हो।
अन्य नतिजा तथा पुरस्कार
फाइनलमा पुग्ने क्रममा मेन्टेन एफसीले क्वाटरफाइनलमा नोबेल फुटबल एकेडेमीलाई २–० ले हराएको थियो। त्यसपछि सेमिफाइनलमा रोएल नेपाललाई पेनाल्टी सुटआउटमा पछि पार्दै मेन्टेन फाइनलमा प्रवेश गरेको थियो। त्यस्तै, होराक एफसीले क्वाटरफाइनलमा डाइनामिक एफसीलाई ३–१ ले र सेमिफाइनलमा ठमेल ११ लाई ३–० ले पराजित गरेको थियो।
तेस्रो स्थानका लागि भएको खेलमा ठमेल ११ ले रोयल नेपाललाई २–१ ले हराउँदै नगद रु २१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो।
उपाधि जितेको मेन्टेन एफसीले नगद रु १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाएको छ। उपविजेता होराक एफसीले रु ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार हात पारेको छ।
प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट टोलीलाई पनि ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो। तीन दिनसम्म सञ्चालन भएको यस प्रतियोगितामा कुल ३२ टोलीको सहभागिता रहेको थियो।
नेपाली खेलकुदको विकास र विस्तारका लागि स्थापना भएको आयोजक संस्था पेसएक्स स्पोर्ट्सले भविष्यमा फुटसलका अलावा अन्य खेलकुद प्रतियोगिताहरूसमेत निरन्तर आयोजना गर्दै जाने लक्ष्य राखेको जनाएको छ।
