मुख्य सामग्रीमा जानुहोस्

सर्भर समस्याका कारण सामाजिक सुरक्षा भत्ता नवीकरणमा ढिलाइ

सर्भरमा आएको समस्याले सामाजिक सुरक्षा भत्ता नवीकरणको काम प्रभावित बनेको छ। अनलाइन नवीकरणमा राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक विवरण नमिल्दा सेवाग्राहीले थप सास्ती खेप्नुपरेको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

साउन २०, काठमाडौं । सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि वडा कार्यालय पुगेका सेवाग्राहीले सर्भरको प्राविधिक समस्याका कारण लामो पर्खाइ खेप्नुपरेको छ। नवीकरण गर्न आएकाहरूको नाम सूचीकृत गर्ने क्रममा नै सर्भरले काम नगर्दा काममा ढिलाइ भएको हो।

वडा कार्यालयमा सेवाग्राहीको पर्खाइ

पर्वतको पैयुँ गाउँपालिका–४ का वडाध्यक्ष नीर्भिक भूर्तेलले सर्भर समस्याका कारण भत्ता नवीकरण गर्न आउने वृद्ध र अपाङ्गता भएका व्यक्तिलगायतलाई लामो समय प्रतीक्षामा बस्नुपरेको बताए। सामाजिक सुरक्षा भत्ता नवीकरणको काम सर्भर नचल्दा निकै प्रभावित बनेको उनको भनाइ छ।

स्याङ्जाको वालिङ नगरपालिका–१४ का वडाध्यक्ष बोधराज कुवँरका अनुसार सेवाग्राहीलाई वडा कार्यालयसम्म आउनुपर्ने बाध्यता नहोस् भन्ने उद्देश्यले कर्मचारी परिचालन गरी विभिन्न स्थानमा नवीकरणको व्यवस्था मिलाइएको थियो। तर, सर्भरले राम्ररी काम नगर्दा त्यहाँ पनि ढिलाइ भएको छ। सर्भर नचल्दा सेवाग्राही र कर्मचारी दुवै निराश रहेको र एक घण्टामा चार जनाको मात्र नवीकरण हुन सकेको उनले जानकारी दिए।

बायोमेट्रिक विवरण नमिल्दा थप समस्या

सामाजिक सुरक्षा भत्ताको नवीकरण विगत दुई वर्षदेखि अनलाइन माध्यमबाट मात्र गर्नुपर्ने व्यवस्था छ। अनलाइन नवीकरणका बेला राष्ट्रिय परिचयपत्र बनाउँदा संकलन गरिएको बायोमेट्रिक जानकारीसँग मिल्नुपर्ने हुन्छ। तर, परिचयपत्र निर्माणका क्रममा प्रयोग भएको औंठाछाप सर्भरमा नदेखिँदा नवीकरण प्रक्रिया अझै जटिल बनेको छ।