सिन्धुलीको फिक्कल–२ मा बसको ठक्करबाट कार सुनकोशी नदीमा खसेर तीन जना बेपत्ता भएको घटनामा पीडित पक्ष र बस सञ्चालक कम्पनीबीच सहमति भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी डीएसपी विजय श्रेष्ठका अनुसार बुधबार साँझ ७ बजे उक्त सहमति भएको हो।
सहमतिसँगै तीन दिनदेखि अवरुद्ध रहेको मध्यपहाडी लोकमार्ग पुनः सञ्चालनमा आएको छ। अलपत्र परेका यात्रु तथा सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्।
सोमबार सडक किनारमा रोकिएको कारलाई तीव्र गतिको बसले पछाडिबाट ठक्कर दिएपछि कार सुनकोशी नदीमा खसेको थियो। दुर्घटनामा सिन्धुपाल्चोक जुगल–७ का पूर्ववडाध्यक्ष दिलकुमार लामा, गोलञ्जोर गाउँपालिका–१ डुङ्भञ्ज्याङका एक्साभेटर चालक गणेश थापा र तीनपाटन गाउँपालिका–९ डाँडाखर्कका सुजन बलमपाकी मगर बेपत्ता भएका छन्।
सहमतिअनुसार सानो गाडीको बीमा दाबी गरेर सम्बन्धित परिवारलाई दिइने, बीमाबापत कानुनबमोजिम आउने ५ लाख रुपैयाँ परिवारलाई उपलब्ध गराइने, परिवारभित्रका एक जनालाई रोजगारी तथा सन्तानको अध्ययनको जिम्मा लिइने भएको छ। गणेश हिमाल–तराई यातायात प्रालिले थप २ लाख रुपैयाँका दरले पीडित परिवारलाई रकम उपलब्ध गराउने सहमति पनि भएको छ।
त्यस्तै, बेपत्ता लामाका सन्तान र गणेशकी पत्नीलाई पढाइदिने तथा सुजनको परिवारभित्रको एक व्यक्तिलाई रोजगारी दिने सहमति भएको छ।
बेपत्ता तीनै जनाको खोजी भने अझै जारी छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गोताखोरसहितको टोलीले तीन दिनदेखि खोजी गरिरहेको छ, तर अहिलेसम्म कुनै सुराक मिलेको छैन।
