काठमाडौं उपत्यकाको सहरी यातायात प्रणाली सुधार्न सरकारले नयाँ दीर्घकालीन गुरुयोजना तयार गरेको छ। जापानी सहयोग नियोग (जाइका)को प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त गुरुयोजनाको अवधारणा पूर्वाधार विकास मन्त्रालय र जाइकाले बिहीबार संयुक्त रूपमा सार्वजनिक गरेका हुन्। यसअघि सन् १९९३, २०१२ र २०१७ मा बनेका यस्तै गुरुयोजना कार्यान्वयन हुन नसकी थन्किएका थिए।
नयाँ गुरुयोजनामा उपत्यकाको चक्रपथलगायत प्रमुख सडकखण्डमा छुट्टै लेनमा बस र्यापिड ट्रान्जिट (बीआरटी) सञ्चालन गर्ने, रत्नपार्कदेखि भक्तपुरसम्म उच्च क्षमताको मेट्रोरेल चलाउने र विभिन्न स्थानमा सुरुङमार्ग निर्माण गर्ने प्रस्ताव समेटिएको छ। यी आयोजना कार्यान्वयन गर्दा २ खर्ब रुपैयाँभन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ।
रत्नपार्क–भक्तपुर मेट्रोरेल
गुरुयोजनाले उपत्यकामा उच्च क्षमताको सार्वजनिक यातायात सञ्चालनका लागि चक्रपथ, उत्तर–दक्षिण र पूर्व–पश्चिम गरी तीन रुट उपयुक्त हुने औंल्याएको छ। तीमध्ये पूर्व–पश्चिम रुट अर्थात् रत्नपार्क–भक्तपुर खण्डलाई मेट्रोरेलको पूर्वसम्भाव्यता अध्ययनका लागि पहिलो प्राथमिकतामा राखिएको छ। सो मेट्रोलाई विभिन्न भागमा सञ्चालन हुने बीआरटी सेवासँग एकीकृत गरेर सर्वसुलभ र सुरक्षित सार्वजनिक यातायात विकास गर्ने लक्ष्य छ।
सहरी क्षेत्रका भित्री भाग तथा जडिबुटी–कोटेश्वर खण्डमा मेट्रो भूमिगत रूपमा सञ्चालन गर्ने योजना पनि मास्टरप्लानमा समेटिएको छ। मेट्रोरेलको कुल लम्बाइ १४ दशमलव ६ किलोमिटर रहने बताइएको छ। चक्रपथमा भने उच्च यात्रु क्षमताका बसलाई समर्पित लेनमा चलाउने प्रस्ताव छ, तर चाबहिल–गौशाला खण्डमा यस्तो लेन व्यवहारिक नहुने गुरुयोजनाको निष्कर्ष छ।
सडक तथा पुल पूर्वाधार
गुरुयोजनाअनुसार सडक पूर्वाधारतर्फ १५ वटा आयोजना अघि बढाइनेछ। महाराजगन्जमा ३०८ मिटर लामो अन्डरपास बनाइने योजना छ। चाबहिल–गौशाला खण्डमा भने १५ सय ६२ मिटर लामो दुईतले सुरुङमार्ग निर्माण गरिने प्रस्ताव छ। सो क्षेत्रका दुवैतर्फ विश्व सम्पदा सूचीमा सूचीकृत संरचना रहेकाले उक्त खण्डमा सुरुङमार्गको अवधारणा ल्याइएको हो। यद्यपि, सम्पदामा पर्न सक्ने प्रभावको अध्ययन तथा मूल्याङ्कन (हेरिटेज इम्प्याक्ट असेसमेन्ट) भएपछि मात्र त्यहाँ परियोजनाको प्रक्रिया अघि बढ्नेछ। हालको चार लेन सडक यथावत् राखेर जमिनमुनि थप चार लेन निर्माण गरिने योजना छ।
त्यस्तै, विष्णुमती नदी करिडोरमा ३ हजार ४ सय मिटर लामो आकाशे राजमार्ग (एलिभेटेड हाइवे) बनाउने प्रस्ताव गरिएको छ। चक्रपथको गौशाला–तीनकुने खण्डका २ हजार ५ सय १९ मिटर सडक विस्तार गरिनेछ। थापाथली–त्रिपुरेश्वर खण्डमा नयाँ नदी करिडोर निर्माण, बागमती नदी करिडोरको स्तरोन्नति र यूएन पार्क पुल विस्तारका अवधारणा पनि गुरुयोजनामा समेटिएका छन्। विष्णुमती, धोबीखोला, कर्मनासा, ग्वार्को र थापाथलीमा नयाँ पुल बनाउने, बालाजु–विष्णुमती रिभर करिडोर तथा चक्रपथ जोड्ने सहायक मार्गको विकास र विस्तार गर्ने योजना पनि मास्टरप्लानमा छ।
यातायात सेवा सुधार
पूर्वाधार निर्माणसँगै यातायात व्यवस्थापन सुधारका कार्यक्रम पनि गुरुयोजनामा समेटिएका छन्। प्रमुख सडकमा युटिलिटी करिडोर निर्माण, ठमेल र उपत्यकाका तीनै दरबार स्क्वायरलाई कार फ्रि जोन घोषणा, चोक सुधार, साइकल लेन निर्माण र सडक सुरक्षा परियोजनामा काम गर्ने योजना छ। आपत्कालीन अवस्थामा मुख्य राजमार्ग बन्द हुँदा एम्बुलेन्स र अन्य सेवा सञ्चालनका लागि इमर्जेन्सी रोड नेटवर्क बनाइनेछ।
सवारी चाप बढी हुने क्षेत्रमा अफ स्ट्रिट पार्किङ निर्माण गरिनेछ, जसका लागि रत्नपार्कजस्ता स्थान उपयुक्त हुने गुरुयोजनामा उल्लेख छ।
जनसंख्या वृद्धि र सवारी चाप
जाइकाले बढ्दो जनसंख्यालाई लक्षित गरेर गुरुयोजना तयार पारिएको बताएको छ। सन् २०११ मा काठमाडौं उपत्यकाको जनसंख्या २४ लाख २४ हजार थियो, सन् २०२१ मा २९ लाख ३६ हजार ४६२ पुगेको अनुमान छ। सन् २०५० सम्म जनसंख्या ४२ लाख १ हजार पुग्ने प्रक्षेपण छ। सो जनसंख्यालाई प्रस्तावित पूर्वाधारले धान्न सक्ने ठहरसहित गुरुयोजना अघि बढाइएको जाइका र मन्त्रालयको भनाइ छ। उपत्यकाका बस्ती केन्द्रबाट टाढा फैलिँदै गएकाले सोहीअनुरूप यातायात पूर्वाधारको योजना बनाइएको कार्यक्रममा जानकारी दिइयो।
हाल गौशाला र कोटेश्वरजस्ता चोकमा ट्राफिक व्यवस्थापनको ठूलो समस्या छ। कोटेश्वरमा जाइकाकै सहयोगमा अन्डरपास र फ्लाइओभर निर्माणको काम अघि बढेको छ। गुरुयोजनामा साँघुरा सडक, बोटल नेक, अपर्याप्त पुल र अप्रोच सडक, पार्किङ अभाव, वैज्ञानिक ट्राफिक लाइट प्रणालीको कमी, दुर्घटनामा वृद्धि, चालकमा अनुशासनको कमी र कमजोर नियमनलाई यातायातका मुख्य समस्या मानिएको छ। उपत्यकामा २ सयभन्दा बढी रुट, ६५ भन्दा बढी यातायात समिति रहेको अनुमान छ। ठूला बस ७ सयदेखि १ हजार, मिनी तथा माइक्रो बस ४ हजारसम्म, टेम्पो ७ सयसम्म र ट्याक्सी १२ हजार हाराहारी रहेको अनुमान गुरुयोजनामा छ।
पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालका अनुसार मन्त्रालयका सचिवको अध्यक्षतामा गठित समितिले यो मास्टरप्लान तयार पारेको हो, जसमा जाइकाले प्राविधिक सहयोग गरेको छ। सन् २०५० सम्मको सार्वजनिक यातायात सुधार र विकासलाई लक्षित गरी सर्वसुलभ र सुरक्षित बनाउने उद्देश्यसहित गुरुयोजना कार्यान्वयन गर्न लागिएको उनको भनाइ छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापाले उपत्यकामा सडक पूर्वाधारमा धेरै काम भए पनि ती गुरुयोजनाअनुरूप नभएको टिप्पणी गरे। सन् २०१७ को गुरुयोजना कार्यान्वयन हुन नसकेकाले त्यसलाई अद्यावधिक गरी उन्नत योजना बनाउन लागिएको र यसले सार्वजनिक यातायातको वर्तमान अवस्था देखाउँदै भविष्य तय गर्ने उनले बताए। चाबहिल–गौशाला क्षेत्र सम्पदा क्षेत्र भएकाले त्यहाँ सुरुङमार्गको अवधारणा ल्याइएको पनि उनको भनाइ छ।
छलफलबाट आएका सुझाव समावेश गरी गुरुयोजनालाई मन्त्रिपरिषद्बाट पारित गराउने तयारी मन्त्रालयले गरेको छ।
