राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको एनआईडीएमआईएस प्रणालीमा देखिएको प्राविधिक समस्याले राहदानी विभागसहित १६ सरकारी निकायका काम प्रभावित भएका छन्। राष्ट्रिय परिचयपत्र नम्बर प्रमाणीकरण हुन नसक्दा राहदानी बनाउन आउने सेवाग्राहीले दैनिक सास्ती खेप्नु परिरहेको छ।
राहदानी विभागको १५ नम्बर कोठामा बिहानैदेखि लाइन बसेका दाङ घोराहीका निराजन शाही आक्रोशित देखिन्थे। आफ्नी सालीको राहदानी बनाउन १२ हजार रुपैयाँ बुझाएको एक साता पुग्दा पनि काम नबनेपछि उनले गुनासो गरे। सुरुमा “एकछिनमा हुन्छ” भन्ने जवाफ पाए पनि दिउँसोसम्म पालो नआएको उनले बताए।
पोखरा–१६ का डिलहादुर परियारको अनुभव झन् पीडादायी छ। दुई हप्तादेखि राहदानी बनाउन भन्दै होटल बसेर खर्च गर्दा २५ हजार रुपैयाँभन्दा बढी सकिएको उनले सुनाए। कर्मचारीले केही दिन लाग्ने बताएपछि उनी झोक्किएका थिए। दोलखा जिरीकी एक महिला पनि आमासहित राहदानी बनाउन आएकी थिइन्, तर उनलाई पनि उही समस्या भोग्नु पर्यो।
विभागको झ्यालमा पुग्ने सेवाग्राहीलाई कर्मचारीले राष्ट्रिय परिचयपत्रको विवरण नभएको भन्दै फाइल फर्काउने गरेका छन्। ‘तपाईंको विवरण सिस्टममा देखाएन’ भन्ने टिप्पणी रातो कलमले लेखिदिने गरिएको छ।
१६ निकाय प्रभावित
यो समस्याले राहदानी विभाग मात्रै प्रभावित भएको छैन। राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएका शिक्षा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय, चिकित्सा शिक्षा आयोग, यातायात व्यवस्था विभाग, सूचना प्रविधि विभाग, आन्तरिक राजस्व विभाग, अध्यागमन विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष, कर्जा सूचना केन्द्र, राष्ट्रिय किताबखाना, नेपाल राष्ट्र बैंक, निवृत्तिभरण व्यवस्थापन कार्यालय र कम्पनी रजिस्ट्रारको कार्यालय गरी १६ निकाय प्रभावित छन्।
समस्या समाधानका लागि राहदानी विभागले पञ्जीकरण विभागलाई पत्र लेखेको थियो। साउन ७ मा पञ्जीकरण विभागले भने प्रमाणीकरण प्रणाली पूर्णरूपमा सञ्चालनमा नआएसम्म व्यक्तिगत रूपमा सहजीकरण गर्न भन्दै जवाफ पठाएको थियो। मर्मतपछि जानकारी दिने बताए पनि हालसम्म समाधान भएको जानकारी नआएको राहदानी विभागका प्रवक्ता दिपक बन्जाडेले बताए।
‘राष्ट्रिय परिचयपत्रको समस्याका कारण सेवाग्राहीको दबाब हामीमाथि आइरहेको छ। समाधानका लागि हामी प्रधानमन्त्रीसँग पनि कुरा गरिरहेका छौं, अब चाँडै समाधान हुन्छ भन्नुहुन्छ,’ बन्जाडेले भने।
पञ्जीकरण विभागले राहदानी विभागलाई मात्र नभई अन्य १३ निकायलाई पनि साउन ११ मा यसै विषयमा पत्र लेखिसकेको छ।
बारम्बार दोहोरिने सर्भर समस्या
पञ्जीकरण विभागको सर्भरमा यो पहिलो समस्या होइन। असारको अन्तिम साता सर्भर बिग्रँदा परिचयपत्र बनाउन नारायणहिटी पुगेका सयौं सेवाग्राही अलपत्र परेका थिए। वैशाखको अन्तिम साता पनि दुई सातासम्म सर्भर ठप्प हुँदा सेवाग्राहीले कार्यालयमै प्रदर्शन गरेका थिए। त्यस क्रममा कर्मचारीमाथि हातपात प्रयास भएपछि विभागले माफी माग्दै सूचना जारी गरेको थियो।
तर, पञ्जीकरण विभागका सूचना प्रविधि निर्देशक राम थापा भने यसलाई पहिलो पटकको समस्या भएको दाबी गर्छन्। उनका अनुसार सर्भरको क्षमता दैनिक १३ हजारबाट घटेर एक हजारदेखि १५ सयमा झरेको छ। सन् २०१८ देखि सञ्चालनमा रहेको प्रणालीको क्षमता समयमै नबढाउँदा यो समस्या आएको र अब अपडेट भइरहेको उनले बताए।
‘हामीले पटकपटक सरकारलाई जानकारी गराएका थियौं। अहिले सिस्टम अपडेट भइरहेको छ, ३–४ दिनमा समस्या समाधान हुन्छ,’ थापाले भने।
पञ्जीकरण विभाग गृह मन्त्रालयअन्तर्गत पर्छ। विभागका कर्मचारीले पटकपटक मन्त्रालयसँग छलफल गरे पनि समाधान निस्कन सकेको छैन। मन्त्रालयका सूचना अधिकारी रमा आचार्यले भने विभाग मन्त्रालयमातहत भएकाले समस्या बुझिरहेको र विभागले चाँडै समाधान गर्ने प्रयास गरिरहेको बताइन्।
