मुख्य सामग्रीमा जानुहोस्

रुकुम पश्चिमको जिल्ला अस्पतालमा चिकित्सक अभाव, सेवा प्रभावित

रुकुम पश्चिमको जिल्ला अस्पतालमा चिकित्सकको दरबन्दी पूरा हुन नसक्दा सेवा प्रभावित भएको छ। अस्पताल प्रशासनले चिकित्सक अभावका कारण बिरामीको उपचारमा कठिनाइ भइरहेको बताएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur

रुकुम पश्चिमको जिल्ला अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा सेवा प्रवाह प्रभावित भएको छ। मुसिकोट नगरपालिका–१ सल्लेस्थित अस्पतालमा सातजनाको दरबन्दी रहे पनि हाल तीनजना मात्रै कार्यरत छन्। यसले बिरामीको उपचारमा गम्भीर असर पुर्याएको हो।

स्वास्थ्य सेवा कार्यालयअन्तर्गत सञ्चालनमा रहेको यो अस्पताल जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पताल हो। यहाँ विशेषज्ञ चिकित्सक तीनजना र मेडिकल अधिकृत चारजना गरी जम्मा सातजना चिकित्सकको दरबन्दी छ।

तीनजना चिकित्सक मात्रै कार्यरत

दरबन्दीमा अहिले स्त्री रोग विशेषज्ञ र एकजना मेडिकल अधिकृत कार्यरत छन्। अस्पतालको आन्तरिक व्यवस्थापनबाट हाड, जोर्नी तथा नशा रोग विशेषज्ञ एकजना थपिएसँगै कुल चिकित्सक सङ्ख्या तीन पुगेको हो। प्रशासकीय अधिकृत कविराम केसीका अनुसार बिरामीको चापका तुलनामा चिकित्सकको सङ्ख्या निकै कम छ।

अस्पतालमा दैनिक करिब दुई सयभन्दा धेरै बिरामी आउने गर्छन्। तर, उपचारका लागि तीनजनामध्ये दुईजना विशेषज्ञ आ–आफ्नो विषयका बिरामीमै व्यस्त हुनुपर्ने अवस्था छ। अन्य बिरामीको चेकजाँच एकजना मेडिकल अधिकृतले मात्र धान्नुपर्ने बाध्यता छ।

यी चिकित्सकमध्ये एकजना मात्र पनि आकस्मिक बिदामा बसेमा वा कामविशेषले जिल्ला बाहिर गएमा सेवाप्रवाहमा थप समस्या आउने केसीले बताए। चिकित्सकको अभावका कारण दैनिक आउने बिरामीको राम्रो उपचार हुन नसकेको उनको भनाइ छ।