बझाङको थलारा गाउँपालिकाले सेती नदीमा बहुप्रकोप पूर्वसूचना प्रणाली ‘मैना’ जडान गरेको छ। विपद्को जोखिम बढी रहेको झ्याबगर क्षेत्रमा यो प्रविधि राखिएको हो, जसले बाढी, पहिरो र डुबानको सम्भावित खतराबारे स्थानीयलाई पहिले नै जानकारी गराउने विश्वास छ।
गाउँपालिकाले पिपुल इन निड संस्थाको सहयोगमा यो प्रणाली जडान गरेको हो। इनोभेटिभ इन्जिनियरिङ सर्भिसेस प्रालिले नेपालमै निर्माण गरेको उक्त प्रणालीबाट बाढी, पहिरो, डुबान, हिमताल विस्फोट, वन डढेलो र औद्योगिक दुर्घटनाजस्ता धेरै प्रकारका विपद्बारे चेतावनी दिन सकिने बताइएको छ।
कसरी काम गर्छ ‘मैना’?
प्रणालीमा बाढी मापन गर्ने सेन्सर जडान गरिएको छ। ती सेन्सरले पठाएको रियल टाइम तथ्यांकका आधारमा जोखिमको आकलन हुन्छ र आवश्यक परेको बेला आफैं साइरन बज्छ। प्राविधिक अनुज खनालका अनुसार साइरनका साथै एसएमएस, इन्टरनेट, स्याटेलाइट र वायरलेस रिमोटमार्फत पनि सन्देश पठाउन सकिन्छ।
मैना चरीले मानिसकै आवाज नक्कल गर्ने भएकाले यो प्रविधिलाई ‘मैना’ नाम दिइएको हो। स्थानीय भाषामा पहिल्यै रेकर्ड गरिएको र प्रत्यक्ष आवाजमा समेत सूचना दिन सकिने भएकाले समुदायका लागि बुझ्न सहज हुने खनाल बताउँछन्।
अत्यधिक वर्षा वा ठूलो बाढी आउँदा सेन्सरले खतरा थाहा पाएसँगै स्वतः साइरन बजेर बस्तीलाई सतर्क गराउँछ। विशेषगरी राति वा विपद्का संकेत तुरुन्त नदेखिने अवस्थामा यो प्रणाली प्रभावकारी हुने अपेक्षा छ। सौर्य ऊर्जामा चल्ने भएकाले विद्युत् अवरुद्ध हुँदा पनि यसले काम गर्छ। यसैगरी केन्द्रबाटै उपकरणको अवस्था हेर्न सकिने भएकाले गाउँपालिका, जलविद्युत् आयोजना, उद्योग तथा विपद् व्यवस्थापन निकायले पनि उपयोग गर्न सक्ने प्राविधिकहरू बताउँछन्।
विपद्को उच्च जोखिममा थलारा
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको अध्ययनले थलारा उच्च जोखिमयुक्त पालिकाका रूपमा देखाएको छ। अध्ययनअनुसार थलारा र केदारस्यूँ गाउँपालिकाका ६० गाउँ पहिरोको जोखिममा छन् र १९ सय परिवार उच्च जोखिमका साथ बस्दै आएका छन्। नदी किनारका बस्ती बाढीको जोखिममा रहेको पनि अध्ययनले औंल्याएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको विवरणअनुसार २०५८ सालयता बाढीको कटानले दुवै पालिकाका १६ भन्दा बढी बस्ती जोखिममा परेका छन्। गत वर्ष सेती नदीमा आएको बाढीका बेला झ्याबगरका घर डुबानमा परेको थियो।
थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले विपद्को पूर्वानुमान र सूचना भए क्षति न्यूनीकरण सम्भव हुने बताए। ‘विपद् आउँदै गर्दा मानिस र सम्पत्ति सुरक्षित ठाउँमा सार्न सकियो भने धेरै जनधनको क्षति जोगाउन सकिन्छ,’ उनको भनाइ छ। झ्याबगरमा जडान गरिएको ‘मैना’ ले सेती नदीको बाढीबारे अग्रिम सचेतना दिने उनको अपेक्षा छ।
जलवायु परिवर्तन, अव्यवस्थित भू–उपयोग र मानवीय क्रियाकलापका कारण नेपालमा विपद्का घटना बढ्दै गएका छन्। एकै ठाउँमा एकपछि अर्को विपद् आउन सक्ने भएकाले बहुप्रकोपको सूचना दिने यस्तो प्रणालीको आवश्यकता समेत बढेको विज्ञहरू बताउँछन्।






