धादिङ — निरन्तरको वर्षापछि खसेको पहिरोका कारण बुधबारदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्ग सोमबार अपराह्नदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ । धादिङको गजुरीस्थित चामबासमा अवरोध गरेको पहिरो हटाइएपछि राजमार्गमा सवारी साधन आवतजावत गर्न थालेका हुन् ।
लगातार परेको वर्षाले विभिन्न ठाउँमा पहिरो गएर क्षति पुुर्याउँदा राजमार्ग अवरुद्ध बनेको थियो । सोही कारण बुधबारदेखि सडकमा सवारी आवागमन ठप्प भएको थियो ।
चामबासको पहिरो पन्छाइएसँगै सोमबार अपराह्नदेखि सडक एकतर्फी रूपमा खुलेको हो । राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन भने केही समय लाग्ने देखिन्छ ।
चामबासमा पहिरो हटाउने काम भइरहेको तस्बिर पोषनाथ अधिकारीले खिचेका हुन्, जो कान्तिपुर मिडिया ग्रुपका धादिङ संवाददाता हुन् ।







