मुख्य सामग्रीमा जानुहोस्

क्यान्ड क्रश सागामा २२ हजार २२२ लेभल पार गर्दै बिहारका शुभमको विश्व रेकर्ड

भारतको बिहारका शुभम कुमारले मोबाइल गेम क्यान्ड क्रश सागामा २२ हजार २२२ लेभल पार गरेका छन्। इन्टरनेशनल बुक अफ रेकर्ड्सले यसलाई ‘क्यान्ड क्रश सागा (किशोर) मा हासिल गरिएको उच्चतम स्तर’ श्रेणीमा मान्यता दिएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
क्यान्ड क्रश सागामा २२ हजार २२२ लेभल पार गर्दै बिहारका शुभमको विश्व रेकर्ड
Nagariknetwork

भारतको बिहारका १९ वर्षीय शुभम कुमारले लोकप्रिय मोबाइल गेम क्यान्ड क्रश सागामा २२ हजार २२२ लेभल पार गर्दै विश्व रेकर्ड बनाएका छन्। यो उपलब्धिलाई इन्टरनेशनल बुक अफ रेकर्ड्सले ‘क्यान्ड क्रश सागा (किशोर) मा हासिल गरिएको उच्चतम स्तर’ श्रेणीमा मान्यता दिएको छ।

रेकर्डकर्ता संस्थाको आधिकारिक वेबसाइटका अनुसार शुभमले ५ जुलाई २०२६ मा यो उपलब्धि हासिल गरेका थिए। त्यतिबेला उनको उमेर १९ वर्ष ८ महिना २५ दिन थियो। रेकर्डसम्बन्धी विवरणमा उनलाई बिहारको दिघवाराका बासिन्दाका रूपमा उल्लेख गरिएको छ।

क्यान्ड क्रश सागामा खेलाडीले एउटै रङका क्यान्डी जोड्दै तोकिएका लक्ष्य पूरा गर्नुपर्छ। लेभल अगाडि बढ्दै जाँदा खेल क्रमशः कठिन बन्दै जान्छ। हजारौँ चरण पार गरेपछि शुभम २२ हजार २२२ लेभलसम्म पुगेका हुन्।

अझै बढ्दै छ लेभल

रेकर्डका लागि मान्यता पाएपछि पनि शुभमले खेल छाडेका छैनन्। भारतीय सञ्चारमाध्यमका अनुसार क्यान्ड क्रशको आधिकारिक समुदायमा गरिएको पोस्टमा उनले आफ्नो हालको लेभल २३ हजार नाघेको जानकारी दिएका छन्। तर इन्टरनेशनल बुक अफ रेकर्ड्सले मान्यता दिएको उपलब्धि भने २२ हजार २२२ लेभलकै हो।

यो रेकर्ड विशेषगरी किशोर वर्गका लागि निर्धारित श्रेणीमा परेको छ। त्यसैले शुभम क्यान्ड क्रश खेल्ने सबै खेलाडीमध्ये सबैभन्दा धेरै लेभल पार गर्ने खेलाडी हुन् भन्ने अर्थ भने यो रेकर्डले राख्दैन।

रेकर्डसम्बन्धी विवरणमा उनले यो उपलब्धि कति समयमा हासिल गरे वा कहिलेदेखि क्यान्ड क्रश खेल्न सुरु गरे भन्ने कुरा भने खुलाइएको छैन।