सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा सिरहाको गोलबजारमा चर्किएको आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति भोगेका करिब ५० जनाले जिल्ला प्रशासन सिरहामा निवेदन दिएका छन् । निवेदन दिनेमा अधिकांश व्यवसायी छन् भने केही घरधनी पनि छन् । तर, उनीहरूले भोगेको क्षतिको यकिन विवरण निकाल्ने काम भने अझै सकिएको छैन ।
साउन १० मा देवानगञ्जमा दुई समूहबीच झडप हुँदा गोली चलेको थियो । त्यसैको विरोधमा मधेश प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन भए । गोलबजारमा भने आन्दोलन उग्र रूपमा विकसित भयो । सोही आन्दोलनका क्रममा गोली चल्दा एक युवकको ज्यान गयो भने अर्का युवक घाइते भए । मृतक औरही गाउँपालिका–२ तुलसीपुरका १५ वर्षीय गणेश यादव हुन् भने धनुषाको धनुषाधाम नगरपालिका–८ धारापानी कुम्हराका १९ वर्षीय सुभाष ठाकुर घाइते भएका छन् ।
करोडौंको क्षति
आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले गोलबजारमा करोडौंको भौतिक तथा आर्थिक क्षति पुर्याएको छ । मधेश प्रदेशकै ठूलो व्यावसायिक मल मानिने एबी मल ध्वस्त भएको छ । एबी मलका प्रबन्ध निर्देशक जगीर अन्सारीका अनुसार भवन र सरसामान गरी त्यसमा २५ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । उनले यो प्रारम्भिक आँकडा भएको र विस्तृत मूल्यांकनपछि क्षति रकम बढ्न सक्ने बताएका छन् ।
मलका अलावा निहाल आयरन स्टोर, झमझम होटल, असलम कपडा पसल र फेसन प्लाजालगायतका प्रतिष्ठानमा पनि तोडफोड र आगजनी भएको छ । ती सबैतिरको क्षतिको यकिन तथ्यांक भने आइसकेको छैन । उद्योग व्यापार संघ गोलबजारका अध्यक्ष विजयकुमार साहले भने कुल क्षति करिब एक सय करोड रुपैयाँ पुग्ने अनुमान गरेका छन् । क्षतिग्रस्त पसल बन्द हुँदा करिब एक सय जनाले रोजगारी गुमाएको उनले बताए ।
प्रशासनिक प्रक्रिया र पीडितका माग
सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले क्षतिको मुचुल्का, विवरण संकलन र मूल्यांकनको काम तीव्र रूपमा भइरहेको बताएका छन् । उनका अनुसार यो काम अन्तिम चरणमा पुगेको छ र एक–दुई दिनभित्र क्षतिको तथ्यांक आउनेछ । गोलबजारको अवस्था अहिले सामान्यजस्तो देखिए पनि पीडित व्यवसायीहरू भने आफ्नो भविष्यलाई लिएर चिन्तित छन् ।
स्थानीय व्यापारी सबाज खानले आफूहरू सबै ऋणकै भरमा व्यापार गरिरहेको र अहिले शून्य अवस्थामा पुगेको बताए । मोहम्मद फयास खानले समस्यामा परेका बेला राज्यले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने तर त्यस्तो महसुस नभएको गुनासो गरेका छन् ।
अध्यक्ष साहले बैंकको ब्याज र हर्जानामा छुट, राजस्वमा छुट र डाँढस दिने गरी राहत प्याकेजसहितका व्यवस्था गर्न सरकारसमक्ष माग गरेका छन् । गोलबजारलाई पुरानै अवस्थामा फर्काउनका लागि यी व्यवस्था आवश्यक रहेको उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी पौडेलले भने मन्त्रीपरिषद्ले क्षति व्यहोरेका व्यापारीलाई राहत दिने निर्णय गरेको सुनेको भए पनि निर्देशन नआइसकेको बताए । क्षतिको मूल्यांकन सकिएपछि निर्देशनबमोजिम काम हुने उनको भनाइ छ । उनका अनुसार लहान र सिरहामा पनि प्रदर्शन भएको थियो, तर त्यहाँ गोलबजारजस्तो क्षति भएको छैन ।






