विश्व आदिवासी दिवसको अवसर पारेर सहिद स्मारक हेटौंडाले हेटौंडा–११ नवलपुरस्थित आफ्नै भवनमा जातीय संग्रहालय सञ्चालनमा ल्याएको छ। आइतबार एक कार्यक्रमका बीच संग्रहालयको उद्घाटन गरिएको हो।
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं सहिद स्मारक हेटौंडाका अध्यक्ष डोरमणि पौडेलले संग्रहालय उद्घाटन गरे। सो अवसरमा मकवानपुरका आदिवासी जनजातिको झाँकी तथा मौलिक पहिरनसहित र्याली पनि निकालिएको थियो। पौडेलले सहिद स्मारक मुलुकभरका आदिवासी जनजातिको पहिचान बोक्ने थलो बन्न पुगेको बताए।
१४ जातजातिका डमी प्रदर्शनीमा
बागमती प्रदेश सरकारको सहयोगमा तयार भवनमा सुरुवाती चरणमा १४ जातजातिका महिला र पुरुषका डमी राखिएको छ। वनकरिया, चेपाङ, तामाङ, नेवार, गुरुङ, ब्राह्मण, थारु, मगरलगायत जातका डमीले मौलिक पहिरनलाई समेटेका छन्।
२०७८ को जनगणनाअनुसार मकवानपुरमा २६ जातजातिको बसोबास रहेको छ। सहिद स्मारक विकास समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेका अनुसार अहिले १४ जातका डमी राखिएको हो, बाँकी जातको समेत क्रमशः डमी थप्दै लगिनेछ।
पर्यटक आकर्षण र प्रवेश शुल्क
एक करोड ५० लाख रुपैयाँ लागतमा निर्माण भएको जातीय संग्रहालय सहिद स्मारककै अर्को आकर्षण बनेको अध्यक्ष पौडेलको भनाइ छ। गत आर्थिक वर्ष २०८२/०८३ मा स्मारकमा स्वदेशी र विदेशी गरी ५ लाख २० हजार पर्यटक पुगेका छन्।
स्मारक हरेक दिन बिहान ६ बजेदेखि राति ९ बजेसम्म खुला रहन्छ। नेपाली सर्वसाधारणका लागि ५०, विद्यार्थीका लागि ३०, सार्क राष्ट्रका नागरिकका लागि १०० र अन्य विदेशी नागरिकका लागि १५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ।
तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५२ माघ १७ गते यस स्मारकको अनावरण गरेका थिए।


