रुकुम पूर्वको एक गाउँ। बाहिर बर्खे झरी चर्किएर परिरहेको छ र कच्ची घरको छानाबाट पानी चुहिएर भुईंमा थोपा झरिरहेका छन्। भान्साबाट निस्केको धूवाँको सानो मुस्लो माथि उडिरहेको छ भने अँगेनाको आगोले कोठालाई न्यानो बनाइरहेको छ। यही अँगेनाछेउ एउटा अधबैंसे दम्पती बसेका छन्।
कुशलक्षेमको कुरा सकिएपछि उनीहरूको जीवनका उकाली–ओरालीका प्रसङ्ग आयो। श्रीमान्ले दाउराको अगुल्टो कोठ्याउँदै कहिले आगोतिर त कहिले श्रीमतीतिर हेर्थे। केहीबेरको मौनताले पीडा र संघर्षका कथा बोलेजस्तो लाग्थ्यो।
अमेरिका, अनि जेल
छोरा कहाँ छन् भन्ने जिज्ञासा राख्दा दम्पतीले सुरुमा अमेरिका भन्ने जवाफ दिए। थप प्रश्न गर्दा उनीहरूको स्वर भारी बन्यो– छोरा अमेरिकाकै जेलमा छन्। जेल किन भन्ने प्रश्नमा श्रीमान्ले भने, “के भनौं र, दशा नै लागेर हो। करोड रुपैयाँ खर्च भयो, तर छोरा उता जेलमा पुग्यो।”
करोडौं ऋणले थिचिएको परिवार
दम्पतीका अनुसार छोराका लागि करोडौं रुपैयाँ खर्च भइसकेको छ र परिवार अहिले ऋणको भारीले थिचिएको छ। बाहिर झरीको आवाज निरन्तर सुनिँदा पनि भित्र अँगेनाको मधुरो उज्यालोमा उनीहरूले आफ्ना कुरा राख्दै गए। धूवाँले आँखा रसाए पनि उनीहरूको व्यवहारमा आत्मीयता र आतिथ्य देखिन्थ्यो।




