काठमाडौंको भृकुटीमण्डपमा २६ देखि ३१ साउनसम्म आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा २० लाखदेखि साढे तीन करोड रुपैयाँसम्म मूल्य पर्ने विद्युतीय सवारीसाधन प्रदर्शनमा राखिने भएका छन्। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न लागेको एक्स्पोमा छुटसहित सवारी बुकिङ गर्ने व्यवस्था पनि रहनेछ।
एक्स्पोमा कुल ५२ स्टल रहनेछन्। प्रदर्शन गरिने नयाँ ब्रान्डमध्ये १८ दुईपांग्रे र २९ चारपांग्रेका छन्। दुईपांग्रे, चारपांग्रे, कमर्सियल सवारी, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी समाधान, प्रविधि, सेवा र मोबिलिटी उत्पादन एक्स्पोको मुख्य आकर्षण हुने आयोजकले बताएको छ। यात्रुवाहक विद्युतीय गाडीसमेत अवलोकनकर्ताले एक्स्पोमा हेर्न पाउनेछन्।
गत वर्ष पहिलो नाइमा एक्स्पोमा एक लाखभन्दा बढीले अवलोकन गरेका थिए। अटो शो प्लानिङ कमिटीका संयोजक गौरव शारडाले यसपटक ब्रान्ड र अवलोकनकर्ता दुवैको संख्या बढ्ने बताएका छन्। गत वर्ष हतारमा आयोजना गरिएको एक्स्पोमा देखिएका कमीकमजोरीलाई सुधारेर अघि बढ्ने उनको भनाइ छ।
नयाँ ब्रान्डको लाइनअप
आयोजकका अनुसार अहिलेसम्म विभिन्न कम्पनीका ४८ ब्रान्ड सार्वजनिक गर्ने तयारी भइसकेको छ। प्यारामाउन्ट मोटर्सले वुलिङ ब्रान्डका पाँच चारपांग्रे विद्युतीय सवारी ल्याउँदै छ, जसमा एक्सिएन, मिनी, डेरिएन, बिंगो र लिंकिस ईभी छन्। फर्मी मोटर्सले स्काइवर्थ र किटन ब्रान्डको एउटा कमर्सियल सवारीसाधन सार्वजनिक गर्ने भएको छ।
इको इन्फिनिटीले निउ ब्रान्डका तीन र इभोक नेपालले केरेन इलेक्ट्रिक स्कुटरका दुई मोडल सार्वजनिक गर्नेछन्। कन्टिनेन्टल ट्रेडिङले किया ब्रान्डका तीन, ईभी राइडले होर्नी बोमा ब्रान्डको एक र हिमालय म्याक्सले म्याक्सस ब्रान्डका तीन सवारी बजारमा ल्याउने तयारी छ। लक्ष्मी कमर्सियलले केरी कमर्सियल ब्रान्डका दुई, लक्ष्मी ई–मोबिलिटीले काइयी ब्रान्डको एक र लक्ष्मी मोटरहबले आर्कफक्स तथा बाइक ब्रान्डको एक–एक सवारी सार्वजनिक गर्नेछ।
एसक्यू इन्टरप्राइजेजले हेनरी भोल्ट्स ब्रान्डका तीन र सांग्रिला मोटर्सले लिपमोटर्स ब्रान्डको एक सवारी प्रदर्शनमा राख्दैछ। युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा ब्रान्डका दुई र भीजी इम्पेक्सले जीडब्लूएम (ग्रेट वाल मोटर्स) ब्रान्डका दुई साधन लन्च गर्नेछ। एसपीजी अटोमोबाइल्सले ओमोडा र आइकार ब्रान्डका एक–एक, पायोनियर मोटोकर्पले निसान र जीओ अटोमोबाइल्सले एमजी ब्रान्डका एक–एक नयाँ सवारी सार्वजनिक गर्ने आयोजकले जनाएको छ।
दुईपांग्रेतर्फ बाइकर्स नेपालले जेडएक्समोटो/सीएक्स ब्रान्डका तीन नयाँ मोटरसाइकल लन्च गर्नेछ। हंसराज हुलासचन्द्र एन्ड कम्पनीले बजाजका दुई, जगदम्बा मोटर्सले टीभीएसका दुई र कुजु नेपालले याडिया ब्रान्डका तीन साधन बजारमा ल्याउँदै छ। परिमिता इन्भेस्टमेन्टले ग्यारो ब्रान्डको एक, त्रायना मोबिलिटीले अल्ट्राभायोलेट ब्रान्डको एक र युनाइटेड ट्रेडर्स सिन्डिकेटले मोर्बिडेली ब्रान्डको एक सवारी सार्वजनिक गर्ने तयारी रहेको छ।
आवागमन र टिकट सुविधा
भृकुटीमण्डप आवतजावतका लागि पठाओले सब्सिडाइ फेयर उपलब्ध गराउने भएको छ। पार्किङमा सवारी ल्याउनु नपर्ने गरी यो सुविधा थपिएको संयोजक शारडाले बताए। यस्तै टिकटमा क्यूआर कोडमार्फत क्यासब्याकको व्यवस्था गरिएको छ। युनियनपे क्यूआर कोड पार्टनर रहेको र ५ सय रुपैयाँको टिकटमा क्यूआर स्क्यान गर्दा ५० प्रतिशत क्यासब्याक दिइने आयोजकले जनाएको छ।
नीति, पूर्वाधार र छलफल
नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले एक्स्पोमा विद्युतीय सवारीको बाहुल्य रहने बताए। ईभीका साथै पेट्रोल/डिजेलबाट चल्ने र हाइब्रिड सवारी पनि एक्स्पोमा समेटिने उनको भनाइ छ। थोरै बजेटदेखि प्रिमियम श्रेणीसम्मका सवारीसाधन एउटै छानामुनि हेर्न पाइने र ट्राफिक सचेतना तथा मोबिलिटीसम्बन्धी कार्यशाला पनि एक्स्पोभर सञ्चालन हुने उनले बताए।
नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले कान्तिपुर मिडिया ग्रुपको राउन्ड टेबलमा गत वर्ष ४२ ब्रान्डका सवारी प्रदर्शनमा राखिएकामा यसपटक संख्या बढेर ५५ पुगेको बताइन्। पहिलो प्रयासबाट राम्रो प्रतिक्रिया पाएकाले नाइमा नयाँ संस्थाका रूपमा स्थापित हुन सफल भएको उनको भनाइ छ। नाइमाका बोर्ड सदस्य निराकार श्रेष्ठले एक्स्पोमा प्रत्यक्ष वैदेशिक लगानी, ब्याट्री पुनः प्रयोग तथा पुनः प्रशोधन, ऋण र वित्तीय व्यवस्था, बिमा तथा युवा उद्यमशीलताबारे छलफल हुने जानकारी दिए।
साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले अटो क्षेत्रको ठूलो समस्या नीतिगत अस्थिरता रहेको बताए। आर्थिक वर्ष २०७७/७८ देखि नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्न थालेको भए पनि एक पटकबाहेक प्रत्येक बजेटमा ती सवारीमा कर बढाइएको उनको भनाइ छ। यस्तो नीतिगत विचलनले बजारमा अन्योल पैदा गर्ने उनले बताए।
पूर्वाधार विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामहरि पोखरेलले मन्त्रालयको मुख्य ध्यान गुणस्तरीय सडक पूर्वाधार निर्माणमा रहेको बताए। सवारी चाप बढी भएका स्थानमा सडक विस्तार र स्तरोन्नतिलाई प्राथमिकता दिइएको उनको भनाइ छ। ऐन र नीति निर्माणका क्रममा अटो क्षेत्रका सुझाव समेटिने उल्लेख गर्दै उनले आगामी सहरी तथा यातायात व्यवस्था ऐनबारे पर्याप्त छलफल हुनुपर्ने बताए।
भृकुटीमण्डपमा एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।






