बर्दियाको ठाकुरबाबा नगरपालिकामा गर्मी मौसम सुरु भएसँगै स्क्रब टाइफसका सङ्क्रमितहरूको सङ्ख्या बढेको छ। नगर अस्पतालमा उपचारका लागि आउने बिरामीको जाँच गर्दा दैनिक तीनदेखि चार जनामा स्क्रब टाइफस देखिने गरेको चिकित्सकहरूले बताएका छन्।
नगर अस्पतालका अनुसार यस रोगका बिरामी किशोर उमेरदेखि ६०÷६५ वर्षसम्मका छन्। बैशाखदेखि हालसम्म करिब दुई सय जनाले स्क्रब टाइफसको उपचार गराइसकेको अस्पतालका डा. ओम चुनराले जानकारी दिए। रोग लागेपछि निरन्तर ज्वरो आउने, शरीर दुख्ने, हल्का खोकी लाग्ने र वाक्वाक् लाग्ने जस्ता लक्षण देखिने उनले बताए।
लक्षण र सङ्क्रमणको अवस्था
मुसामा लाग्ने किर्नाले टोक्दा यो रोग सर्ने गरेको छ। वर्षाको समयमा स्क्रब टाइफसको सङ्क्रमण बढी फैलिने गरेको चिकित्सकहरूको भनाइ छ। यस रोगका केही बिरामी नगर अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन्।
अस्पतालको सेवा व्यवस्था
गत बैशाखमा सञ्चालनमा आएको १५ शैय्याको नगर अस्पतालमा दैनिक करिब १५० जना बिरामी उपचारका लागि आउने गरेका छन्। अस्पतालमा दुई जना मेडिकल अधिकृत र स्टाफ नर्सलगायत स्वास्थ्यकर्मी कार्यरत छन्।
उपचारका लागि घरबाट अस्पताल आउने÷जाने बिरामीको सहजताका लागि एउटा अटो रिक्सा निःशुल्क उपलब्ध गराइएको नगर अस्पतालका अध्यक्ष भावुक योगीले बताए।





