कैलालीमा खाना पकाउने ग्यासका केही ब्रान्डको आपूर्ति रोकिँदा उपभोक्ता समस्यामा परेका छन्। मानकमाना र भेरी ग्यासका सिलिन्डर करिब एक हप्तादेखि बजारमा नआएपछि यी ब्रान्डका नियमित उपभोक्ताले ग्यास पाउन मुस्किल भएको हो।
विशेषगरी ती दुई ब्रान्डमा भर पर्ने उपभोक्ताले कहिलेकाहीँ धेरै दिनसम्म कुर्नुपर्ने वा अर्को कम्पनीको सिलिन्डर किन्नुपर्ने अवस्था आएको छ। धनगढीका फलिराम चौधरीले आफूले नियमित प्रयोग गर्ने ब्रान्डको ग्यास नपाएपछि तीन दिनसम्म कुर्नुपरेको र अन्ततः अर्को कम्पनीको सिलिन्डर किन्न बाध्य भएको बताए।
त्यस्तै, धनगढीकै होटल सञ्चालक टंक खनालले पनि एक–दुई दिनसम्म ग्यास पाउन पर्खनुपरेको जानकारी दिए। होटल व्यवसायजस्ता दैनिक ग्यास चाहिने क्षेत्रमा आपूर्ति रोकिँदा समस्या थप बढेको देखिन्छ।
प्रशासनले गर्यो निरीक्षण
ग्यास अभाव भएको भन्ने सूचना आएपछि सहायक प्रमुख जिल्ला अधिकारी खदानन्द खत्रीको नेतृत्वमा स्थानीय प्रशासनले धनगढीका ग्यास डिलर तथा अधिकृत वितरकहरूको निरीक्षण गरेको थियो।
निरीक्षणबाट जिल्लामा समग्र रूपमा एलपीजीको अभाव नरहेको तर केही कम्पनीले अनियमित आपूर्ति गर्दा विशेष ब्रान्डका उपभोक्ताले समस्या भोग्नुपरेको निष्कर्ष निकालिएको खत्रीले बताए।
भण्डारण र कालोबजारीबारे चेतावनी
अपुष्ट सूचनाका आधारमा केही व्यक्तिले आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण गर्न थालेपछि प्रशासनले यस विषयमा चेतावनी दिएको छ। अत्यधिक भण्डारणले कृत्रिम अभाव निम्त्याउने र आफूसँग सिलिन्डर नभएका उपभोक्ताका लागि ग्यास पाउन झन् कठिन बनाउने अधिकारीहरूको भनाइ छ।
ग्यास डिलरहरूलाई एक व्यक्तिलाई एकपटकमा एकभन्दा बढी सिलिन्डर नबेच्न र बिक्री गर्नुअघि ग्राहकको पहिचान प्रमाणित गर्न निर्देशन दिइएको खत्रीले बताए। रेडियन्ट र शैपाल ग्यासको आपूर्तिमा भने हाल यस्तो समस्या नरहेको प्रशासनले जनाएको छ।
भाडाको कोठामा बस्ने विद्यार्थी र ग्यासमा सीमित पहुँच भएका अन्य उपभोक्तामा अत्यधिक भण्डारणको असर परेको भन्दै प्रशासनले व्यक्तिगत रूपमा बढी सिलिन्डर राख्न नहुने बताएको छ। कृत्रिम अभाव सिर्जना गर्ने वा एलपीजीको कालोबजारी गर्ने जोकोहीलाई कानुनी कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ।






