मुख्य सामग्रीमा जानुहोस्

एआईको युगमा पुराना कम्प्युटर संकलनको आकर्षण बढ्दै

सिएटलका सफ्टवेयर इन्जिनियर जोस डर्शले दुई सयभन्दा बढी पुराना कम्प्युटर संकलन गरेका छन्। जेरक्स अल्टोजस्ता मेसिनलाई पुनर्स्थापना गरेर देखाउने संकलकहरूको समुदाय पनि बढ्दै गएको छ। भिन्टेज कम्प्युटर फेस्टिभलमा यसपटक एप्पलको…

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Thehimalayantimes

अमेरिकाको क्यालिफोर्नियास्थित माउन्टेन भ्यू, अगस्ट ११। एआईले विश्वलाई तीव्र गतिमा बदलिरहेको बेला पुराना कम्प्युटरप्रतिको आकर्षण पनि उत्तिकै बढिरहेको छ। सिलिकन भ्यालीको मुटु मानिने माउन्टेन भ्यूस्थित कम्प्युटर हिस्ट्री म्युजियममा आयोजना हुने भिन्टेज कम्प्युटर फेस्टिभलमा यसपटक तीन हजार पाँच सयभन्दा बढी सहभागी भएका छन्।

सिएटलका सफ्टवेयर इन्जिनियर जोस डर्श आफ्नो ग्यारेजमा घण्टौं बिताएर दशकौं पुराना मेसिनलाई सञ्चालनमा फर्काउने गर्छन्। आफ्नो घरमा दुई सयभन्दा बढी भिन्टेज कम्प्युटर र डिभाइस रहेको उनले बताए। “चिजको उद्गम हेर्नु मेरा लागि सधैं रोचक लाग्छ,” उनले भने, “डिबग र मर्मत गर्नु रमाइलो चुनौती हो किनभने यसले सम्पूर्ण प्रणालीलाई माथिदेखि तलसम्म बुझ्न मद्दत गर्छ।”

संकलकहरूको बढ्दो उत्साह

डर्श यस्ता संकलकहरूको ठूलो समुदायको हिस्सा हुन्, जसले डिजिटल क्रान्ति सुरु गर्ने मेसिनहरूलाई जोगाइरहेका छन्। एटारी, कोमोडोर र आईबीएमका ती मेसिनलाई आजका ल्यापटप, स्मार्टफोन र पहिरिने यन्त्रका “पुर्खा” मानिन्छ। धेरै संकलक बाल्यकालका बिब-चाइम सुन्न र “पोंग” तथा “स्पेस इन्भेडर्स” जस्ता कम्प्युटर गेम खेल्न पाउँदा रमाउँछन्।

“कम्प्युटरको इतिहास र त्यससँग जोडिएका सबै कुराप्रति उत्साह बढ्दै गएको छ,” भिन्टेज कम्प्युटर फेडेरेसनका अध्यक्ष एरिक क्लाइनले भने। फेडेरेसनले नै हरेक वर्ष सो म्युजियममा महोत्सव आयोजना गर्छ।

यसपटकको दुईदिने महोत्सवले सन् १९७६ मा नजिकैको क्युपर्टिनोमा स्थापना भएको एप्पलको ५०औं वर्षगाँठ मनाएको थियो। कार्यक्रममा एप्पलका सह-संस्थापक स्टिभ वोज्नियाक र रोनाल्ड वेनले स्वर्गीय स्टिभ जब्सको नेतृत्वमा रहेको सानो स्टार्टअपका सुरुवाती दिनहरू सम्झिए।

उत्तर अमेरिका, दक्षिण अमेरिका र युरोपका विभिन्न सहरमा यस्ता १२ भन्दा बढी आयोजना सुरु भइसकेका छन्। क्लाइनका अनुसार अनलाइन बजारमा पुराना कम्प्युटरको माग पनि बढेको छ। एप्पलको पहिलो उत्पादन एप्पल-१ जस्ता दुर्लभ मेसिन सयौं हजार डलरसम्म पर्न सक्छ।

महोत्सवमा सहभागीहरूले कष्टसाध्य रूपमा पुनर्स्थापना गरेका कम्प्युटर प्रदर्शनीमा राखेका थिए। आगन्तुकहरूले इन्टरनेट, सामाजिक सञ्जाल र एआईले संसार बदल्नुअघिका मेसिनसँग खेल्न पाए।

आधुनिक कम्प्युटरको ‘पुर्खा’

डर्श सिएटलबाट आफ्नो संग्रहको ‘शान’ जेरक्स अल्टो लिएर महोत्सवमा आएका थिए। सन् १९७० को दशकमा जेरक्स पालो आल्टो रिसर्च सेन्टरमा विकास भएको उक्त मेसिनलाई आधुनिक कम्प्युटरको पुर्खाको संज्ञा दिइन्छ। डर्शले वर्षौं लगाएर यसलाई पुनर्स्थापना गरेका हुन्।

अल्टो स्क्रिनमा केवल पाठ देखाउने प्रविधिभन्दा अघि बढेर माउस र ग्राफिकल युजर इन्टरफेस प्रयोग गर्ने प्रारम्भिक मेसिनमध्ये एक थियो। विन्डो, आइकन र कर्सरजस्ता प्रविधि पछि स्टिभ जब्स र बिल गेट्सलाई आफ्ना प्रारम्भिक उत्पादनमा समावेश गर्न प्रेरित गरेको मानिन्छ।

डर्शको प्रदर्शनीमा पूर्ण सञ्चालन हुने अल्टोसँगै अग्लो ठाडो मनिटर, बाक्लो किबोर्ड, माउस र पिज्जा आकारका हार्ड डिस्क थिए। ती डिस्कले आधुनिक मापदण्डका हिसाबले अत्यन्तै थोरै डाटा भण्डारण गर्थे। “आफ्नो काम अरुलाई देखाउनु र अरुले गरेको काम हेर्नु रमाइलो छ,” डर्शले भने, “त्यहाँ कन्साइनमेन्ट क्षेत्र पनि छ, त्यसैले घर लैजान थप पुराना सामान किन्न सक्छु।”

संग्रहको भारीदेखि विश्वव्यापी आयोजनासम्म

सिलिकन भ्यालीका सफ्टवेयर इन्जिनियरिङ म्यानेजरसमेत रहेका क्लाइन आफैं पनि उत्साही संकलक थिए। कुनै बेला उनको कोठा र ग्यारेजमा १५० वटासम्म कम्प्युटर सिस्टम, सामान, कागजात र प्याकेजिङ थन्किएको थियो। तर संग्रह नै उनको घर र पारिवारिक जीवनमा बोझ बनेपछि उनले मेसिन बेच्न र बाँड्न थाले। घरमा केही मनपर्ने मेसिन मात्र राखे। उनले आफ्नो संग्रहलाई “अल्बाट्रोस” अर्थात् घाँटीमा झुण्डिएको भारीको संज्ञा दिएका थिए।

अहिले उनी फेडेरेसनका अध्यक्षका रूपमा महोत्सव, मर्मत कार्यशाला र स्वैप मिटजस्ता कार्यक्रम आयोजना गर्छन्। “यो सबै इतिहासलाई बाँचाउने र पुरानो प्रविधिको संकलन, मर्मत र रमाइलोको शौक अघि बढाउने काम हो,” उनले भने।

सेलाम इस्माइलले सन् १९९७ मा सान फ्रान्सिस्कोको पूर्वमा पहिलो भिन्टेज कम्प्युटर फेस्टिभल आयोजना गरेका थिए। त्यसबेला झन्डै १५० शौकियाहरू सहभागी भएका थिए। उनले एक दशकसम्म कार्यक्रम चलाएपछि भिन्टेज कम्प्युटर फेडेरेसनको सह-स्थापना गरे। फेडेरेसनले अमेरिका र क्यानडामा महोत्सव सञ्चालन गर्छ। अर्जेन्टिना, जर्मनी र स्विट्जरल्यान्डमा यस्तै आयोजना सुरु गर्न पनि इस्माइलले सहयोग गरेका छन्।

“समुदाय ठूलो हुँदै गयो र मानिसहरूले पुराना कम्प्युटर किन्न तथा संकलन गर्न थाले,” उनले भने। “अर्को वर्ष ३०औं वर्षगाँठ मनाइँदै छ, र यो निरन्तर अझ ठूलो हुँदै जाने मेरो अपेक्षा छ।”