राष्ट्रपति रामचन्द्र पौडेलले युवा पुस्ताको आवाज नेपालको सामाजिक तथा राजनीतिक बहसमा स्पष्ट र प्रभावशाली देखिन थालेको भन्दै त्यसलाई केवल पुस्तान्तरणको रूपमा नभई विचार र कार्यशैलीको नवीकरणका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा अनलाइनखबरले आयोजना गरेको ‘४० मुनिका ४०’ कार्यक्रममा साउन २७ गते राष्ट्रपति पौडेलले ४० जना युवालाई सम्मान गर्दै यस्तो धारणा राखेका हुन्।
कार्यक्रममा राष्ट्रपतिले आफू यहाँ युवालाई सम्मान गर्न मात्र नभई नेपालको भविष्यका ४० सम्भावनालाई नजिकबाट हेर्न र सुन्न आएको बताए। अनलाइनखबरका नियमित पाठक रहेको स्मरण गर्दै उनले सञ्चारमाध्यमले समाजभित्र चुपचाप भइरहेका सकारात्मक प्रयत्नलाई सार्वजनिक बहसमा ल्याउनुपर्नेमा जोड दिए।
सम्मानित युवाका कथाले परिवर्तनका लागि सधैं ठूलो पद, शक्ति वा पुँजी आवश्यक नहुने देखाएको उल्लेख गर्दै राष्ट्रपतिले ठूलो सोच, स्पष्ट उद्देश्य र निरन्तर कर्म पनि पर्याप्त हुने बताए। युवालाई ‘देशको भविष्य’ भन्नेमा मात्र सीमित नराखी अर्थतन्त्र, राजनीति, प्रविधि, संस्कृति, अनुसन्धान र सार्वजनिक बहसमा उनीहरूको उपस्थिति अहिले नै आवश्यक रहेको उनको भनाइ थियो। नयाँ पुस्तासँग ऊर्जा, प्रविधि र विश्वसँगको प्रत्यक्ष सम्पर्क रहेको उल्लेख गर्दै उनले प्रश्न गर्ने साहसलाई विशेष महत्त्व दिए।
प्रविधि प्रयोगमा विवेक
राष्ट्रपति पौडेलले युवालाई प्रविधिको प्रयोग गर्न आग्रह गर्दै विवेकलाई भने प्रविधिको जिम्मा नछोड्न सुझाव दिए। संसारसँग प्रतिस्पर्धा गर्दा पनि आफ्नो समाजसँगको सम्बन्ध नतोड्न उनले आग्रह गरे। देशलाई युवाको प्रतिभा मात्र नभई इमानदारीसमेत चाहिने उनको भनाइ छ।
युवाको आवाज पछिल्ला वर्षहरूमा नेपालको सामाजिक र राजनीतिक बहसमा झन् स्पष्ट हुँदै गएको उल्लेख गर्दै उनले यस उपस्थितिलाई पुस्तान्तरणको रूपमा मात्र नभई विचार र कार्यशैलीको नवीकरणका रूपमा विकास गर्न सकिनुपर्ने बताए। राष्ट्र निर्माणका लागि पुर्खाको गौरवपूर्ण इतिहासको सम्मान गर्दै अनुभवबाट सिकेर अघि बढ्ने युवा आवश्यक रहेको उनले उल्लेख गरे।
लोकतन्त्रका लागि तथ्यपरक बहस
कार्यक्रममा राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र सत्यमा आधारित पत्रकारिताले लोकतन्त्रलाई जीवन्त बनाउने बताए। संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको भन्दै उनले राज्यका सबै अंगले त्यसको मर्म आत्मसात् गर्नुपर्नेमा जोड दिए। तथ्यमा आधारित बहस र प्रश्न गर्न सक्ने नागरिक समाजकै कारण लोकतन्त्र सुदृढ हुने उनको भनाइ थियो।
सूचना प्रविधिको विकाससँगै मिथ्या सूचनाको चुनौती बढेको भन्दै उनले जिम्मेवार सञ्चारमाध्यमले जनतासम्म सही सूचना पुर्याउन सफल हुनुपर्ने बताए। यसका लागि अनलाइनखबरजस्ता माध्यमलाई शुभकामना दिए। जिम्मेवार असहमति लोकतन्त्रको शक्ति भएको र त्यसैले संघीय लोकतान्त्रिक गणतन्त्र आफ्नो लक्ष्यमा पुग्ने विश्वास उनले व्यक्त गरे।
सम्मानपछिको जिम्मेवारी
सम्मानित सबै युवालाई बधाई दिँदै राष्ट्रपतिले त्यो सम्मानलाई अर्को जिम्मेवारीको सुरुवात बनाउन आग्रह गरे। युवाको सपना ४० नामभित्र सीमित नरहेको उल्लेख गर्दै उनले देशका गाउँ, सहर, विश्वविद्यालय, प्रयोगशाला, स्टार्टअप, खेत, अस्पताल, खेलमैदान, स्टुडियो र विदेशका विभिन्न कुनामा हजारौं नेपाली युवाले मौन काम गरिरहेको स्मरण गराए। पारदर्शी, समावेशी र विविधताको मर्मअनुरूपका छनोट प्रक्रियाले अवसर नपाएका र मूलप्रवाहको नजरमा नपरेका युवासम्म दृष्टि पुर्याउने उनले विश्वास व्यक्त गरे।
प्रत्येक पुस्ताले आफ्नो हिस्साको भविष्य निर्माण गर्ने भन्दै उनले युवालाई आफू सफल हुन र अरूलाई पनि अघि बढ्ने बाटो बनाइदिन आग्रह गरे। आफ्नो सपना पूरा गर्दै देशले देख्नुपर्ने ठूलो सपना नबिर्सन उनले आह्वान गरे। आवेगसँगै विवेक थप्न अझ मेहनत गर्नुपर्ने उनको भनाइ थियो।






