सरकारले दुई दिने सार्वजनिक बिदाको व्यवस्था तत्काल फिर्ता नलिने स्पष्ट पारेको छ। बिहीबार राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले दुई दिने साप्ताहिक बिदाको विषयमा कुनै पुनरावलोकनको तयारी नरहेको बताइन्। उनले प्रधानमन्त्री बलेन्द्र शाहको तर्फबाट राष्ट्रिय सभामा जवाफ दिएकी थिइन्।
दुई दिने बिदाको व्यवस्थाले शिक्षा, व्यापार र सरकारी सेवामा प्रतिकूल असर पारेको भन्दै राष्ट्रिय सभामा आलोचना भएको थियो। नेपाल कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले दुई दिने बिदालाई 'असफल विधि' भन्दै एक दिने साप्ताहिक बिदा फर्काउन माग गरे। उनले यो व्यवस्थाले विद्यालयको पाठ्यक्रम पूरा गर्न कठिनाइ पर्न सक्ने र विद्यार्थी तथा सरकारी सेवा प्रवाहमा असर पर्ने चिन्ता व्यक्त गरे।
सरकारको तर्क
मन्त्री गौतमले सन् २०२६ अप्रिल ६ देखि दुई दिने बिदा लागू गरिएको स्मरण गराउँदै सुरुमा इन्धन आपूर्तिमा भएको कठिनाइ, इन्धन खपत घटाउनुपर्ने आवश्यकता र प्रशासनलाई नतिजामुखी बनाउने प्रयास रहेको बताइन्। सो व्यवस्था प्रभावकारी भएको दाबी गर्दै उनले कर्मचारीको काम र जीवनबीच सन्तुलन कायम गर्न, ऊर्जा तथा प्रशासनिक खर्च घटाउन र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सहयोग पुगेको जिकिर गरिन्।
“यो व्यवस्थाले कर्मचारीको कार्य–जीवन सन्तुलन कायम गर्न, ऊर्जा र प्रशासनिक खर्चमा बचत गर्न तथा आर्थिक गतिविधि सक्रिय राख्न आन्तरिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको छ,” गौतमले भनिन्। उनले कार्यालय बिहान ९ बजेदेखि खुल्ने व्यवस्थाले सार्वजनिक सेवालाई थप सहज बनाएको र कर्मचारीको मनोबल तथा उत्पादकत्वमा सकारात्मक असर परेको पनि बताइन्।
शिक्षामा असरको चिन्ता
पूरक प्रश्नका क्रममा सांसद विश्वकर्माले दुई दिने बिदाका कारण विद्यालयले पाठ्यक्रम पूरा गर्न कठिनाइ हुने र विद्यार्थी तथा सरकारी सेवा प्रवाह प्रभावित हुने चिन्ता व्यक्त गरेका थिए। उनको प्रश्नको जवाफमा मन्त्री गौतमले विद्यार्थीको सर्वाङ्गीण विकासलाई केवल कक्षाकोठाको शिक्षासँग मात्र जोड्न नहुने बताइन्। सामाजिक अन्तरक्रिया र खेलकुद पनि विद्यार्थी विकासका लागि महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।
सांसदहरूले उठाएका चासोबारे सरकार जानकार रहेको उल्लेख गर्दै मन्त्री गौतमले हालको व्यवस्था परिवर्तन गर्ने कुनै गृहकार्य नसुरुइएको बताइन्। तर, प्राप्त सुझावहरू भने अध्ययन गरिने उनले जानकारी दिइन्।






