मुख्य सामग्रीमा जानुहोस्

रास्वपा सांसद सुनारको आईजीपी कार्कीमाथि आक्रोश: बर्दी र फुली देखाएर मुद्दा सकिँदैन

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आईजीपी दानबहादुर कार्कीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा पुनः आक्रोश व्यक्त गरेका छन्। उनले गरिब सिपाहीहरूको जुत्ता–मोजा र कट्टु–रासन खाएको अर्बौंको मुद्दा रहेको पनि…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar

२८ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई लक्षित गर्दै बिहीबार राति फेसबुकमा आक्रोशपूर्ण अभिव्यक्ति दिएका छन्। उनले प्रहरीको बर्दी र फुली देखाएर धम्काउन खोज्नुले विगतका मुद्दाहरू टुंगिहाल्ने नभएको बताएका छन्।

आफ्नो स्टाटसमा सुनारले राज्यमा एक हजार अर्बभन्दा बढी बेरुजु रहेको उल्लेख गर्दै भ्रष्टाचार, घोटाला, अनियमितता र काण्डको चाङ रहेको पनि लेखेका छन्। उनले सार्वजनिक लेखा समितिमा आफूहरू रहेको र त्यहाँ मुख मिठ्याउँदा जनताको मुख तितो हुने टिप्पणी गरेका छन्।

बाँकी रहेका तीता कुरा

सांसद सुनारले आफूले तितो बोल्दा भोका नाङ्गा पिँधका जनताको मुख मिठो हुने दिन आउने भन्दै अझै धेरै तितो बोल्न बाँकी रहेको जनाएका छन्। उनले बिरालोको घाँटीमा घण्टी बाँध्ने जोखिम कसैले न कसैले लिनुपर्ने र त्यसका लागि जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको संकेत गरेका छन्।

“हिजोको मुद्दा बर्दी र फुली देखाएर धम्काउँदैमा सकिने विषय हैन,” उनको भनाइ छ।

गरिब सिपाहीको पक्षमा रहेको दाबी

सुनारले आफू राष्ट्रसेवक प्रहरी, सिपाही र म्यादी प्रहरीको पक्षमा सदैव रहेको दाबी दोहोर्याएका छन्। गरिबका छोराछोरी नै म्यादी, सिपाही र हबलदार भएको उल्लेख गर्दै उनले ती गरिबकै जुत्ता–मोजा, कट्टु–रासन खाएको अर्बौंको गम्भीर मुद्दा रहेको बताएका छन्।

“मुद्दा लागेको व्यक्तिले बयान दिने हो, प्रवचन दिने होइन। जुत्ता लगाउने हो, खाने होइन। सत्य सेवा सुरक्षणम्,” सांसद सुनारले लेखेका छन्।

केही दिनअघि प्रतिनिधिसभाको लेखा समितिको बैठकमा सांसद सुनारले चर्का कुरा गरेपछि नेपाल प्रहरीका आईजीपी कार्कीले प्रतिवाद गरेका थिए। यसै प्रसंगलाई इंगित गर्दै सुनारले पछिल्लो अभिव्यक्ति दिएका हुन्।