मुख्य सामग्रीमा जानुहोस्

निजी क्षेत्रसम्बन्धी बजेट घोषणामध्ये ४६ प्रतिशत मात्र पूर्ण कार्यान्वयन

नेपाल उद्योग परिसंघले गरेको बजेट वाच अध्ययनअनुसार गत आवको बजेटमा निजी क्षेत्रसँग सम्बन्धित घोषणाको कार्यान्वयन निराशाजनक देखिएको छ । ७४ बुँदामध्ये ३४ बुँदा मात्र पूर्ण कार्यान्वयन भएका छन् भने ६ बुँदा शून्य कार्यान्वयनमा…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar

गत आर्थिक वर्ष २०८२/८३ को बजेटमा निजी क्षेत्रसँग सम्बन्धित गरिएका प्रावधानहरूको कार्यान्वयन पक्ष कमजोर रहेको पाइएको छ । नेपाल उद्योग परिसंघले सार्वजनिक गरेको अध्ययनअनुसार बजेटमा समेटिएका ७४ बुँदामध्ये ३४ बुँदा मात्र पूर्णरूपमा कार्यान्वयन भएका छन् ।

परिसंघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा आयोजना गरेको बजेट वाच कार्यक्रममा उक्त जानकारी दिइएको हो । अध्ययनअनुसार बाँकी ३४ बुँदा आंशिक कार्यान्वयनको अवस्थामा छन् भने ६ बुँदाको कुनै पनि कार्यान्वयन भएको छैन ।

यस आधारमा बजेटका ४६ प्रतिशत घोषणा मात्र पूर्ण कार्यान्वयन भएको देखिएको छ ।

क्षेत्रगत अवस्था

परिसंघको अध्ययनले औद्योगिक विकाससँग सम्बन्धित २७ बुँदामध्ये १४ बुँदामात्र पूर्ण कार्यान्वयन भएको देखाएको छ । त्यस्तै ऊर्जा, पूर्वाधार तथा सहरी विकास सम्बन्धी १४ बुँदामा ५ बुँदाको मात्र पूर्ण कार्यान्वयन भएको छ ।

कृषि तथा जडीबुटीतर्फ ७ बुँदामध्ये ४ बुँदा पूर्ण कार्यान्वयन भएका छन् । पर्यटनका ९ बुँदामा ३ बुँदाको मात्र पूर्ण कार्यान्वयन भएको अध्ययनले जनाएको छ । त्यसैगरी लगानी तथा वित्तीय क्षेत्रतर्फ ८ बुँदामध्ये ४ बुँदाको कार्यान्वयन पूर्ण भएको छ ।

शिक्षा तथा रोजगारीका ३ बुँदामध्ये १ बुँदाको कार्यान्वयन पूर्ण भएको छ भने सूचना प्रविधि तथा नवउद्यममा ६ बुँदामध्ये ३ को पूर्ण कार्यान्वयन भएको अवस्था छ ।

परिसंघको माग

बजेट वाच कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको आर्थिक विकास, औद्योगिक रूपान्तरण र समृद्धिको यात्रामा सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताए । उनले परिसंघ सरकारसँग सहकार्य गर्न तयार रहेकोसमेत जनाए ।

अध्यक्ष पाण्डेले बजेट वाच कार्यक्रमलाई चालु आर्थिक वर्षमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले पूँजीगत खर्चको प्रभावकारी कार्यान्वयनका लागि सरकारसँग मागसमेत गरे ।

यस वर्ष सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न पूर्वाधार आयोजना समयमै सम्पन्न गर्नुपर्ने, सार्वजनिक खर्चको गुणस्तर सुधार गर्नुपर्ने, निजी लगानीलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्नुपर्ने र मन्त्रालयगत निर्णय प्रक्रिया तीव्र बनाउनुपर्ने उनको भनाइ छ ।