राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनाका क्रममा सङ्कलित विवरणमध्ये छ प्रदेशको लगत प्रशोधन सकाइसकेको छ। बाँकी बागमती प्रदेशको प्रशोधन भने अझै जारी रहेको कार्यालयले जनाएको छ।
गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालका अनुसार कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका व्यावसायिक प्रतिष्ठानको तथ्याङ्क प्रशोधन पूरा भइसकेको छ। बागमती प्रदेशका प्रतिष्ठानको विवरणमा भने प्रशोधनको काम भइरहेको उनले बताए।
प्रशोधनका क्रममा करिब ११ लाख व्यावसायिक प्रतिष्ठानको विवरणमा देखिएका त्रुटि, दोहोरिएका अभिलेख तथा अङ्कगत असङ्गति सच्याउने काम भइरहेको छ। त्यसबाट तथ्याङ्कको गुणस्तर सुनिश्चित गर्ने लक्ष्य राखिएको निर्देशक ढकालको भनाइ छ।
आर्थिक गणनाले कूल १३ लाख ६६ हजार व्यावसायिक प्रतिष्ठान समेटेको थियो। गत वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन भएको गणनाबाट जुटेको विवरणलाई सही, विश्वसनीय र उपयोगी बनाउन प्रशोधनका विभिन्न चरण पूरा गरिँदै छ।
वर्गीकरण र डेटा प्रविष्टि
प्रतिष्ठानको प्रकृति हेरेर औद्योगिक, व्यापारिक तथा सेवामूलक क्षेत्रका रूपमा वर्गीकरण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार कोडिङ गरिने ढकालले जानकारी दिए।
कागजी तथा डिजिटल फाराममा सङ्कलित विवरण केन्द्रीकृत सफ्टवेयर वा डेटाबेसमा प्रविष्ट गर्ने काम अन्तिम चरणमा पुगेको छ। हालसम्म करिब सात लाख व्यावसायिक प्रतिष्ठानको विवरण प्रविष्ट गरिएको उनले बताए।
गणनामा व्यावसायिक कृषि, खानी, उत्पादन तथा उद्योग, व्यापार, निजी व्यवसाय, बैंक तथा सहकारीलगायत वित्तीय संस्थासम्बन्धी प्रतिष्ठानको विवरण समेटिएको छ। तथ्याङ्क प्रविष्टि तथा प्रशोधनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ।
प्रतिवेदनले के देखाउने?
आर्थिक गणनाको प्रतिवेदन तयार भएपछि देशको आर्थिक विकासमा हुने लगानीले सिर्जना गर्ने रोजगारी, वस्तु उत्पादन तथा समग्र अर्थतन्त्रमा पार्ने प्रभावको विश्लेषण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।







